चाकरचौडा सिमा सुरक्षा गुल्मका सशस्त्र प्रहरीमाथि घुस लिएको आरोप

  • ४ असार २०८३, बिहीबार २२:०८ मा प्रकाशित
  • कपिलवस्तु ,असार ०४ – कपिलवस्तुको चाकरचौडास्थित प्रस्तावित सिमा सुरक्षा गुल्ममाथि पछिल्लो समय विभिन्न प्रश्न उठिरहेका बेला त्यहाँ कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक गगन बलामीमाथि घुस तथा अनियमिततासम्बन्धी गम्भीर आरोप लागेको छ ।
    स्थानीय युवा दिपक तिवारीले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको भिडियोमा सहायक निरीक्षक बलामीले सीमा क्षेत्रमा व्यापार गर्ने व्यक्तिहरूबाट नियमित रूपमा ५००० हजार देखि ७००० हजार रुपैयाँसम्म असुल्ने गरेको आरोप लगाएका छन् । उनले घरायसी प्रयोजनका लागि चिनी लगायतका सामग्री समेत माग्ने गरेको दाबी गरेका छन् ।
    तिवारीका अनुसार बलामीले आफूसँग २० किलो चिनी मागेका थिए। आफूले साँझ उपलब्ध गराउने बताएपछि २०–२५ किलो चिनी लिएर आउने क्रममा पक्राउ गरिएको उनको दाबी छ । उनले बरामद गरिएका सामानमध्ये केही मात्र भन्सार कार्यालयमा बुझाइने र बाँकी सामानको हिसाबकिताब पारदर्शी नरहेको आरोप समेत लगाएका छन् ।
    सार्वजनिक भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ भने सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीहरूको भूमिकामाथि समेत प्रश्न उठ्न थालेको छ । स्थानीयवासीले सार्वजनिक रूपमा उठेका आरोपको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
    यता सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक गोपाल अधिकारीले सार्वजनिक भिडियोमा लगाइएका आरोपबारे छानबिन गरिने बताएका छन् । उनले आरोप लगाउने युवक यसअघि पनि अवैध रूपमा सामान ओसारपसार गर्दै गरेको अवस्थामा पक्राउ परेको दाबी गर्दै हाल सार्वजनिक भएका विषयको समेत सत्यतथ्य अनुसन्धान गरिने बताए ।https://www.facebook.com/share/v/1NuNVPfsfK/