१५ दिनभित्र सार्वजनिक जग्गा खाली नगरे कारबाही: मायादेवी गाउँपालिका

  • २३ बैशाख २०८३, बुधबार २०:०६ मा प्रकाशित
  • कपिलवस्तु, बैशाख २३

    कपिलवस्तुको मायादेवी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र अतिक्रमण गरिएका सरकारी तथा सार्वजनिक जग्गा १५ दिनभित्र खाली गर्न कडा निर्देशन दिएको छ । गाउँपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै अतिक्रमण गरी व्यक्तिगत रूपमा प्रयोग गरिएका सम्पूर्ण सार्वजनिक सम्पत्ति तत्काल खाली गर्न आग्रह गरेको हो ।
    गाउँ कार्यपालिकाको कार्यालय, पकडीबाट जारी सूचनामा नेपाल सरकार गृह मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रअनुसार सार्वजनिक जग्गा संरक्षण सम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याइएको उल्लेख गरिएको छ । सोही व्यवस्थाअनुसार गाउँपालिका क्षेत्रभित्र सर्बजनिक जग्गा अतिक्रम गरी बनाइएको घर , बाटो, कुलो, पोखरी लगायतका सार्वजनिक जग्गामा गरिएको अतिक्रमण हटाउन अभियान सञ्चालन गरिने जनाइएको छ ।
    सूचनामा भनिएको छ, “सार्वजनिक जग्गा अतिक्रमण गरी घरटहरा निर्माण, खेतीपाती वा अन्य कुनै पनि प्रयोजनमा प्रयोग गरिएको पाइएमा १५ दिनभित्र स्वेच्छिक रूपमा हटाउन सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।” तोकिएको समयसीमाभित्र अतिक्रमण हटाउन अटेर गरेमा गाउँपालिकाले प्रचलित कानुनअनुसार बलपूर्वक खाली गराउने र त्यसबाट लाग्ने सम्पूर्ण खर्च समेत सम्बन्धित व्यक्तिबाट असुल गरिने चेतावनी दिइएको छ ।
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र यादवद्वारा हस्ताक्षरित उक्त सूचनामा सार्वजनिक सम्पत्तिको संरक्षणमा सबै नागरिकको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अतिक्रमण सम्बन्धी सूचना भएमा वडा कार्यालय वा गाउँपालिकामा जानकारी गराउन समेत अनुरोध गरिएको छ ।
    स्थानीय तहले सार्वजनिक सम्पत्तिको संरक्षणमा सक्रियता बढाएसँगै मायादेवी क्षेत्रमा अतिक्रमण विरुद्धको अभियान थप कडाइका साथ अगाडि बढ्ने संकेत देखिएको छ ।