कपिलवस्तु, माघ ७

कपिलवस्तुमा प्रतिनिधिसभा निर्वाचनका लागि कुल ९८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीनवटै निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी उम्मेदवारी क्षेत्र नम्बर ३ मा परेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर १ मा ३४ जना, क्षेत्र नम्बर २ मा २८ जना र क्षेत्र नम्बर ३ मा ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको अनुसार क्षेत्र नम्बर १ मा कुल १ लाख ४७ हजार ६५९ मतदाता रहेका छन् । जसमध्ये पुरुष ७७ हजार ६४६, महिला ७० हजार ००९ र अन्य ४ जना रहेका छन् ।
त्यस्तै, क्षेत्र नम्बर २ मा कुल १ लाख ३० हजार २०२ मतदाता छन् । यसमध्ये पुरुष ७० हजार २६४ र महिला ५९ हजार ९३८ रहेका छन् ।
क्षेत्र नम्बर ३ मा कुल १ लाख १८ हजार ४०४ मतदाता रहेका छन् । जसमध्ये पुरुष ६३ हजार ९३६ र महिला ५४ हजार ४६८ रहेका छन् ।
यसैबीच, प्रतिनिधिसभा सदस्यका लागि परेको उम्मेदवारीमा महिला प्रतिनिधित्व अत्यन्त न्यून देखिएको छ । कुल ९८ उम्मेदवारमध्ये केवल चार जना महिला रहेका छन्, जुन करिब ४ प्रतिशत मात्र हो ।
विशेषगरी क्षेत्र नम्बर ३ मा महिला उम्मेदवारी शून्य रहेको देखिएको छ ।

