कपिलवस्तु, १५ मंसिर — महिलामाथि हुने हिंसा रोकथामका लागि ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ अन्तर्गत मायादेवी गाउँपालिका कपिलवस्तुमा अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । मायादेवी गाउँपालिकाको समन्वयमा तथा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको महिला सशक्तीकरण परियोजनाको आयोजनामा भएको हो ।

कार्यक्रम मायादेवी गाउँपालिका अध्यक्ष वलिउद्दिन खानको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिम्लिसेना प्रमुख अतिथिका रूपमा उपस्थित रहेको थिए । साथै कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले विशिष्ट अतिथिका रूपमा सहभागि भएको थिए ।
पालिका अध्यक्ष वलिउद्दिन खानले भने, “महिला हिंसा रोकथाम हाम्रो प्राथमिकता हो । गाउँपालिका, समुदाय र सुरक्षा निकाय मिलेर काम गर्दै महिलाको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्ध छौं। यस अभियानलाई व्यवहारिक पहलको रूपमा अघि बढाउदै आएको छौं ।”
महिलामाथि हुने हिंसालाई व्यक्तिगत वा पारिवारिक घटना मात्र नभई सामाजिक संरचना, संस्कार र संस्थागत कमजोरीसँग जोडिएको गम्भीर चुनौती भएको उल्लेख गरे । मन्त्री तिम्लिसेनाले सरकारी सेवा, सुरक्षा, कानुनी पहुँच र पीडितमैत्री कार्यक्रमहरूको पहुँच सबै क्षेत्रमा सुनिश्चित गर्नु आवश्यक भएको बताए । प्रमुख जिल्ला अधिकारी गौतमले प्रशासनले पीडितमैत्री सेवा प्रवाहमा प्रतिबद्ध रहेको र स्थानीय तहसँग समन्वय गरेर प्रभावकारी पहल गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा सहभागीहरूले आर्थिक सशक्तीकरण, शिक्षा, बालविवाह रोकथाम, सुरक्षित आवागमन, पुरुष–महिला बराबरी र सामाजिक चेतनाको विस्तार अभियानको मुख्य आधार बन्नुपर्नेमा जोड दिएका थिए । सहभागीहरूले १६ दिने अभियान केवल औपचारिक कार्यक्रम नभई समानता, न्याय र सुरक्षित समाज निर्माणतर्फको साझा प्रतिवद्धता भएको बताएका थिए ।
गाउँपालिकाले अभियानअन्तर्गत विद्यालय, महिला समूह र समुदायमा सचेतनामूलक कार्यक्रम, र्याली, सामुदायिक छलफल र पीडितमैत्री सेवा निरन्तर सञ्चालन गर्ने जनाएको छ ।

