कपिलवस्तु, मंसिर १४— मायादेवी गाउँपालिका कपिलवस्तुले गाउँभित्रका दुई महत्वपूर्ण सडक खण्डमा वर्षौंदेखि रहेका अव्यवस्थित र अतिक्रमित संरचनाहरू हटाउन ३५ दिनभित्र अनिवार्य रूपमा खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

सूचनामा डुमरा–रजवापुर–सिसवा हुँदै डुमारिया जाने मार्गमा सडकको दायाँ–बायाँ ५–५ मिटर क्षेत्र र २.५ मिटर सेटब्याक भित्र पर्ने सबै संरचना हटाउन निर्देशन दिइएको हो ।
यस्तै अभिराव–भरवलिया–बडसुडवा जोड्ने सडकमा सडक केन्द्रबाट दायाँ–बायाँ ७–७ मिटर सहित २.५ मिटर सेटब्याक क्षेत्र अतिक्रमणमुक्त गर्न सूचनामा उल्लेख गरिएको छ ।
गाउँपालिकाका अनुसार दुवै सडक खण्डमा बढ्दो आवतजावत र यातायात सुरक्षा चुनौतीका कारण भित्र रहेका टोल, चौतारा, पसल, घर, छाप्रोलगायत संरचना हटाउन यो निर्णय आवश्यक भएको हो ।
सार्वजनिक सडक ऐन, २०३१ को दफा ३(क) उपदफा (२) अनुसार सूचना जारी गरिएको गाउँपालिकाले जनाएको छ ।

