प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम समुदाय आक्रोशित

  • १३ मंसिर २०८२, शुक्रबार ०६:५७ मा प्रकाशित
  • कपिलवस्तु, फागुन १२ — प्रधानमन्त्री सुशीला कार्कीले महिला हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भका क्रममा व्यक्त गरेको भनाइलाई लिएर कपिलवस्तुमा मुस्लिम समुदायले तीव्र असन्तोष जनाएको छ । उक्त अभिव्यक्ति मुस्लिम महिलाको मर्यादा र पहिचानमा प्रहार भएको भन्दै समुदायका अगुवाहरुले विरोध प्रदर्शनमा उत्रिएका छन् ।

    बिहीबार साँझ मायादेवी गाउँपालिकास्थित पकडी चोकमा मुस्लिम अगुवा तथा स्थानीयवासीहरू भेला भई प्रधानमन्त्रीको पुतला दहन गरेका थिए । प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

    यस्तै, सदरमुकाम तौलिहवामा पनि मुस्लिम समुदायका प्रतिनिधिहरूले छुट्टै रूपमा विरोध जनाएका छन् । उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति “खेदजनक र पदको मर्यादाविपरीत” रहेको भन्दै तत्काल सच्याउनुपर्ने आग्रह गरेका छन् ।

    विरोधसभामा बोल्दै नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य अतहर कमाल मुसलमानले प्रधानमन्त्रीको अभिव्यक्तिले मुस्लिम महिलाको मर्यादा तथा सम्पूर्ण समुदायको भावनामा आघात पुगेको बताए । उनले भने,“प्रधानमन्त्रीको भनाइले मुस्लिम समुदायलाई गलत रूपमा प्रस्तुत गरेको छ । यस्तो अभिव्यक्तिले राष्ट्रको सामाजिक सद्भावमै असर पार्न सक्छ ।”

    त्यसैगरी सो कार्यक्रममा स्थानीय मोहम्मद इसहाक ,निशार अह्मद र जम्शेद खानले पनि प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति असाङ्गत भएको उल्लेख गर्दै समुदायमाथि परेको अपमानको जिम्मेवारी लिनुपर्ने माग गरे ।

    विरोध प्रदर्शनअघि मुस्लिम अगुवाहरूको टोलीले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा प्रधानमन्त्रीको अभिव्यक्तिले धार्मिक तथा सामाजिक सहिष्णुतामा प्रतिकूल प्रभाव पारेको उल्लेख गरिएको छ ।

    समुदायका अगुवाहरूले तत्काल अभिव्यक्ति फिर्ता गरी सार्वजनिक रूपमा माफी मागिनुपर्ने माग गरेका छन् ।