कपिलवस्तुमा ट्राफिकको कडा कारबाही

  • १९ कार्तिक २०८२, मंगलवार २०:५८ मा प्रकाशित
  • कपिलवस्तु ।
    जिल्लामा बढ्दो सवारी अव्यवस्थालाई नियन्त्रण गर्न र सडक सुरक्षामा सुधार ल्याउने उद्देश्यका साथ ट्राफिक प्रहरी कार्यालय तौलिहवाले स्पष्ट नम्बर प्लेट नभएका सवारी साधनहरुलाई सुधार अभियान” सुरु गरेको छ ।

    ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षक लिल बहादुर कुँवरको नेतृत्वमा खटिएको पाँच सदस्यीय ट्राफिक टोलीले तौलिहवा बजार, हुलाकी राजमार्ग र आसपासका भित्री सडकखण्डमा व्यापक अनुगमन तथा चेकजाँच सञ्चालन गरेको हो ।

    अभियानका क्रममा नम्बर प्लेट मेटिएका, अस्पष्ट रहेका वा पुरै नलेखिएका १४ वटा सवारी साधन नियन्त्रणमा लिइएको थिए । ती सवारी चालकलाई तत्काल सवारीको नम्बर प्लेट स्पष्ट रूपमा अंकित गर्न लगाइएको र सुधारपछि मात्र सवारी छोडिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    प्रहरी वरिष्ठ नायब निरीक्षक कुँवरका अनुसार, पछिल्ला दिनमा सडकमा चल्ने धेरै सवारी साधनमा नम्बर प्लेट ढाकिएको, हराएको वा पढ्न नसकिने अवस्थामा रहेको पाइँएको हुँदा निगरानी कडा पारिएको हो । उनले भने, “नम्बर प्लेट नदेखिँदा दुर्घटना वा अपराध अनुसन्धानमा समस्या हुने भएकाले यो अभियान चलाइएको छ ।

    उनले चालकहरुलाई सवारी साधन सञ्चालन गर्दा आवश्यक कागजात, लाइसेन्स र स्पष्ट नम्बर प्लेटसहित मात्र सडकमा निस्कन आग्रह गरेका छन् ।ट्राफिक प्रहरी कार्यालयका अनुसार, यसअघि पनि अनियमित पार्किङ, लेन तोडफोड, हेलमेट नलगाउने र नम्बर प्लेट मेट्ने जस्ता गल्तीमा पटक–पटक सचेतना तथा कारबाही कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।

    ट्राफिक प्रहरीले यो अभियान स्थायी रूपमा जारी रहनेछ र दैनिक अनुगमनका क्रममा नियम उल्लङ्घन गर्नेहरूलाई दण्डात्मक कारबाही गरिनेछ ।

    सडक सुरक्षामा नागरिकको सहभागिता बढाउन कार्यालयले स्थानीय निकाय, यातायात व्यवसायी र नागरिक समाजसँग समन्वयमा जनचेतनामूलक कार्यक्रम पनि अघि बढाउने तयारी गरेको छ ।