
गत मङ्गलबार साँझदेखि परेको अबिरल वर्षाले गर्दा नेपालीहरुको महान पर्व बडादसैँको रौनकता बढाउन सकेन ।
चाडपर्वको समयमा आफन्त, इष्टमित्र, मान्यजनको हातको टीका थाप्न र आर्शीबाद लिन बर्षाका कारण कठिनाई भएको व्यास–१० निवासी तुलबहादुर सुनार बताउँछन् ।
अबिरल वर्षाकै कारण ससुराली घर चितवनमा जान समेत रोकिनुपरेको उनको दुखेसो छ ।
जाउँ जाउँ त लागेको छ, लामो दूरीको सडक त्यसमा पनि ठाउँ ठाउँमा पहिरो खस्ने चिन्ताले जाने चाहना हुँदाहुँदै पनि नसकिएको सुनार बताउँछन् ।
कोरोनाका कारण तीन बर्ष खुलेआम चाडपर्व मनाउन नपाएका नेपालीहरुले यसबर्ष दशैं हर्षोल्लास र उमङ्गका साथ मनाउने सपना देखेपनि त्यो पूरा हुने नहुने अवस्था सिर्जना भएको हो ।
वर्षा जारी रहेका कारण मौसमले समेत साथ नदिँदा पीङ खेल्न, रमाइला स्थानमा घुम्न जान नपाइएको व्यास–२ निवासी एवं संचारकर्मी विकास खनाल बताउनुहुन्छ ।
दशैंको दिन टीका,जमराका साथै नयाँ नयाँ कपडा लगाएर मान्यजनहरुको हातबाट टीका थाप्न जान बर्षाका कारण समस्या भएको उनको भनाइ छ ।
अबिरल वर्षाका कारण दसैँमा पीङ्ग खेलेर रमाइलो गर्ने र साथीभाईसँग भेटघाट गरी प्रत्यक्ष कुराकानी गर्ने अबसरबाट गर्न बञ्चित हुनुपरेको व्यास नगरपालिका–१ निवासी जानुका नेपालीको पनि गुनासो छ ।
उनी भन्छन्, अघिल्ला बर्षको चाडपर्व कोरोना सङ्क्रमणका कारण बाहिर खुलेर रमाउन नपाइएकामा यसबर्ष पनि मौसमले साथ नदिँदा खल्लो भयो । रासस

