
दाङ जिल्लाको घाेराही उपमहानगरपालिका वडा नंं. १७ मा अवस्थित श्री गाेरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठमा रहेको गाेरखनाथ वैदिक गुरुकुलकाे आयाेजनामा संचालित गाेरक्ष चिन्तनकाे ४८औँ श्रृंखलामा पाेखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालको उपस्थिति रहेको थियो ।
अष्ट्रेलियाकाे सिड्निमा रहेर अध्यात्मकाे क्षेत्रमा काम गर्दै आउनुभएका विदुर प्रसाद सापकाेटाकाे प्रमुख उपस्थिति रहेकाे कार्यक्रममा एकाएक उपकुलपति अर्याल उपस्थित हुनुभएको आयोजकले जनाएको छ । साथै यसरी उपकुलपति डा.अर्याल कार्यक्रममा आगमन हुँदा गोरक्ष चिन्तनको गरिमा उँचो भएको धारणा व्यक्त गरेको छ ।
आध्यात्मिक चिन्तक अन्तर्राष्ट्रिय प्रवचनकर्ता डा. चिन्तामणिनाथ याेगीले कार्यक्रमकाे महत्त्वको बारेमा जानकारी गराउनु हुँदै दाङकाे गाेरखनाथ वैदिक गुरुकुलले संचालन गरेकाे जुम भर्चुअल कार्यक्रमकाे गरिमा बढाईदिएकाेमा धन्यवाद ज्ञापन गर्दै आगामि दिनहरुमा पनि एकसाथ रहेर धार्मिक, शैक्षिक जागरणका विषयमा अगाडि बढ्नका लागि ठूलाे मद्दत मिल्नेछ भन्ने आशा प्रकट गर्नुभयाे ।
प्राप्त जानकारी अनुसार उक्त शृङ्खलाको कार्यक्रममा प्राचार्य सन्ताेषी सुवेदीले हरेक साता गुरुकुलमा भएगरेका गतिविधिका बारेमा जानकारी गराउनु भएकाे थियाे, भने पूर्व अध्यक्ष तथा गाेरक्ष चिन्तन जुम भर्चुअलका संचालक प्रकाश भट्टराईले गुरुकुलका बारेमा अवगत गराउनु भएको थियो ।
साथै पूर्व अध्यक्ष भट्टराईले गुरुकुलमा वटुक मात्र नभई कन्याले पनि गुरुकुलीय शिक्षा लिईरहेकाे र आफूहरूले जुनसुकै जातजाति र समुदायका व्यक्तिहरुलाई संस्कृत शिक्षा लिनका लागि खुल्ला गरेको बताउनुभयो। साथै उहाँले हरेक शुक्रबार सन्चालन हुँदै गोरक्ष चिन्तन कार्यक्रमको ५० औँ शृङ्खला विशेष तवरले मनाउने पनि जानकारी दिनुभयो।
हाल केही दिनकाे बसाईमा नेपालमा आउनुभएका सत्संगप्रेमि विदुर प्रसाद सापकाेटाज्यूले आफूलाई नेपालीपन, नेपाली माटाेकाे बेग्लै श्रद्धा लाग्ने भएकोले नेपाल बसाईमा क्रममा आफ्नाे घरपरिवार भन्दा गुरुकुल र साधु सन्तकाे सङ्गतमा रमाउन पाउँदा आनन्दाभूति भएकाे बताउनुभयो।
साथै उहाँले गाेरखनाथ वैदिक गुरुकुल दाङकाे बेग्लै पहिचान पाएकाे र आगामी दिनमा सँगै मिलेर गुरुकुल शिक्षाकाे विकाश विस्तारमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
कार्यक्रममा निङ्गलासैनि गुरुकुल धनगढिका प्राचार्य र वि.वि.सि नेपाली सेवाका पूर्व पत्रकार भगिरथ याेगी लगायतको सहभागिता रहेकाे थियाे ।
मठ समितिका ताेयनाथ याेगीले धन्यवाद एवम् कृतज्ञता ज्ञापन गर्नुभएको थियो, भने बटुकहरुले बिबिध शैक्षिक कृयाकलाप प्रस्तुत गरेका थिए ।

