
समर्पण रम्जान, १४ अप्रिल २०२२, साउदी अरब ।
नेपाली नयाँ वर्ष २०७ ९ नेपाली श्रमिकहरू सचेत बनेको वर्ष बनोस् भनी शुभकामना दिदैं साउदी अरबमा रहेर काम गर्दै गर्दा गर्न हुने तथा गर्न नहुने कार्यहरू सम्बन्धी बुँदागत रुपमा नेपाली दूतावास रियाद साउदी अरबले सबैलाई जानकारी गराएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा आई विभिन्न पेशा / व्यवसायमा संलग्न रहेका नेपाली नागरिकहरूले गर्न हुने नहुने कामहरु एवं सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सजगता र सचेतनाका सम्बन्धमा नेपाली राजदूतावास रियादले समय समयमा विभिन्न कार्यक्रम , फेसबुक एवं वेभसाइट मार्फत जानकारी गराउदै आए पनि अहिले श्रमिक सचेतनामा मद्दत पुऱ्याउने विभिन्न बुंदाहरु समेटेर साउदी अरबमा गर्न हुने / नहुने कार्यहरू सम्बन्धी जानकारी विस्तृतरूपमा संप्रेषण गरेको छ ।
साउदी अरबको साइबर अपराध विरूद्दको कानून २००७ को कोही कसैले उल्लङ्घन गरेमा ५ वर्षको जेल सजाय वा ३० लाख रियालसम्म वा दुवै जरिवाना हुने भएकोले सो कानूनको प्रतिकूल हुने कुनै पनि गतिविधिहरू नगर्नु / नगराउनु हुन अनुरोध छ । यसकालागि कसैले पनि आफ्नो फोनबाट अनावश्यक म्यासेज वा कुरा नगर्नुहोस । फेसबूक , IMO , WhatsApp , Messenger वा अन्य माध्यमबाट साउदी कानूनको बर्खिलाप हुने गरी कुनै कुरा अपलोड , शेयर , लाइक , कमेण्ट आदि नगर्नुहोस ।
१. आफ्नो फोनबाट अरूलाई कुरा गर्न नदिनुहोस । आफैँले पनि आफ्नो फोनबाट साउदीमा अपरिचित पुरुष वा महिलालाई सम्पर्क गरेर अनावश्यक कुरा नगर्नुहोस ।
२. हुण्डी , हवाला वा अन्य कुनै पनि गैर – कानूनी माध्यमबाट रकमको कारोवार नगर्नुहोस स्वदेशमा रकम पठाउँदा बैंकिङ माध्यमबाट मात्र पठाउनुहोस ।
३. आफू रहेको मुलुकको धर्म , संस्कृति , परम्परा , रीतिरिवाज र राजनीतिक व्यवस्थाको सम्मान गर्नु तपाइ हाम्रो दायित्व हो । साउदी अरबमा रहदा आफ्नो यो दायित्व पूरा गर्नुहोस् । आफ्ना धार्मिक तथा सांस्कृतिक क्रियाकलाप आफ्नो कोठाभित्र मात्र सीमित राख्नुहोस् ।
४. साउदी अरबमा मदिराजन्य पदार्थको उत्पादन , वेचविखन , ओसारपसार , सेवन तथा लागूपदार्थको सेवन वा कारोबार पूर्ण गैरकानूनी कार्य हो । यस्ता काममा संलग्न नहुनुहोस ।
५. अरूको उक्साहटमा लागेर वा स्वयं पनि कम्पनीको काममा वाधा पुऱ्याउने , उत्तेजना वा द्वेष फैलाउने , बन्द , हडताल , धर्ना , जुलुस तथा राजनैतिक सभा , सम्मेलन , गोष्ठी गर्ने कार्य पूर्ण गैरकानूनी हुनुका साथै ठूलो सजायँ समेत हुने भएकाले यी कुनैपनि कार्यहरू नगर्नुहोस् ।
६. छुट्टीमा वा करार सम्झौता समाप्त गरी नेपाल जाँदा अथवा नेपालबाट फर्केर आउँदा नेपाल एवं साउदी अरबको कानूनले निषेध गरेका कुनै पनि आफ्नो वा अन्य कुनै व्यक्तिको ) मालसामान वा सून लगायत बहुमूल्य धातु लैजाने वा ल्याउने नगर्नुहोस । कुनै अन्य व्यक्तिका कानूनतः वर्जित मालसामान तपाईंले बोक्नुभएको छ भने त्यसको सम्पूर्ण जिम्मेवार तपाईं आफैँ हुनुहुन्छ । विगतमा अन्य व्यक्तिको कानूनले प्रतिबन्ध लगाएका सामान ल्याउने / लैजाने गरेका धेरै नेपालीहरु सम्बन्धित निकायको कार्यवाहीमा परेका छन् । तसर्थ , त्यस्ता कार्यमा संलग्न नहुनुहोस ।
७. स्थानीय कानून , ट्राफिक नियम र अनुशासनको पालना गर्नुहोस् र कानूनी कारवाही हुनबाट बच्नुहोस् । ट्राफिक नियमको उल्लंघन गरी बाटो काट्दा नेपालीको निधन हुनुका साथै गम्भीर घाइते हुने गरेका छन् । तसर्थ बाटो काट्न तोकिएको स्थानबाट मात्र बाटो काट्ने गर्नुहोस् । ट्राफिक नियमको उल्लघन गरी बाटो काटेर निधन भएकाहरुको परिवारले समेत क्षति पाउदैनन्
८. गर्मी तथा सुख्खा हावापानी भएकोले प्रशस्त पानी पिउनुहोस । AC कुन हदसम्म चलाउने भन्नेबारे जानकारी राख्नुहोस । दिनभरी घाममा रहेर एकै चोटी धेरै चिसो AC , चिसो पानी वा चिसो पेय पदार्थ उपयोग नगर्नुहोस ९ . पारिश्रमिक बढी पाउने लोभमा रोजगार करार सम्झौताभन्दा फरक काम र कम्पनी नखोज्नुहोस । विधिवत कफला हस्तान्तरण नभएसम्म कम्पनी छोडेर भाग्ने वा काम छोड्ने नगर्नुहोस । हुरूब लागेका व्यक्ति स्वदेश फर्कन तथा विरामी भए उपचार गर्न समस्या पर्छ । त्यस्तै , हुरूव लागेर बसेका कामदारको मृत्यु भएमा शव नेपाल पठाउन समेत कठिन हुन्छ । कसैले पनि उहांहरूको जिम्मा लिंदैन ।
१०. करार अवधि सकिने मिति यकिन गर्नुहोस करार अवधिभन्दा बढी बस्न कानूनतः मिल्दैन । करार अवधि सकिनु अघि नैं एक्जिट भिषा लगाउने वा करार सम्झौता नवीकरण गर्ने यकिन गर्नुहोस् । सो अनुसार कम्पनीमा लिखित आवेदन दिनुहोस । करार सम्झौता नवीकरण गर्नुपर्ने भए पुनः श्रम स्वीकृति लिने व्यवस्था गर्नुहोस । एउटा कम्पनीसंगको करार समाप्त भइ अर्को कम्पनीसंग करार गर्ने भएमा साउदी सरकारले उपलब्ध गराएका Absher एप तथा QIWA पोर्टल प्रयोग गर्नुहोस् ।
११. आफ्नो Iqama ( फोटोकपि समेत ) अरूलाई नदिनुहोस । तपाइँको अकमाको पूर्ण जिम्मेवारी तपाइँमा हुन्छ । तपाइँको अकमा प्रयोग गरी कसैले बदमासी गर्यो भने त्यसको दोष तपाइँमा आउंदछ र तपाइँ सजायको भागी हुनुहुन्छ माथि भने झैं आफ्नो टेलिफोन पनि अरूलाई नदिनुहोस । त्यसरी दिएर गलत कल गरेमा कानून अनुसार तपाइँ पनि कारवाहीमा पर्नुहुनेछ ।
१२. कम्पनीमा आफुले गर्नुपर्ने दैनिक कामको तालिका ( Worksheet ) प्राप्त गर्नुहोस । यसबाट तपाईको अधिकार स्थापित गर्न सहज हुनेछ ।
१३. आफुसंगै काम गर्ने अरू देशका कामदारसंग सभ्य व्यवहार गर्नुहोस , झगडा नगर्नुहोस । आफ्नो म्यानेजर वा सुपरभाइजरसंग सम्मानजनक व्यवहार गर्नुहोस । स्वयं एवं विदेशी कामदारको लहैलहैमा लागेर धेरै नेपालीहरुले समान चोरी गरेका आरोपका मुद्दाहरु वर्षों देखि विभिन्न अदालतहरुमा रहेका छन् । तसर्थ , चोरी जस्तो जघन्य अपराध नगर्नुहोस् ।
१४. विरामी भएमा समयमा नैं अस्पताल जानुहोस् र यसमा कम्पनीको सहयोग आवश्यक पर्नेमा आधिकारिक व्यक्तिलाई भन्नुहोस ।
१५. काम गर्दा कामको प्रकृति अनुसार व्यवसायजन्य सुरक्षाका उपायहरू अपनाउनुहोस र सुरक्षाका सामाग्री प्रयोग गर्नुहोस । विशेष ध्यान दिनुपर्ने कुराहरूः १. विभिन्न कानूनी झण्झट तथा मुद्दा मामिलामा परेका कामदारले राजदूतावास वा सम्बन्धित कम्पनी वा निकायमा समयमै जानकारी गराउनुहोस सम्बन्धित प्रहरी बा अदालतमा गई मुद्दाको अद्यावधिक अवस्था बुझ्नुहोस । अदालतमा भाषा अनुवादक हुन्छन् । उनीहरूको सेवा लिई आफ्नो पक्षका सवाललाई प्रभावकारी रूपमा अदालतसमक्ष राख्नुहोस । मुद्दाको प्रतिरक्षा र सुरक्षामा आफु सदैव सचेत रहनुहोस । गम्भीर प्रकृतिको मुद्दामा अदालतमा हुने सुनवाइमा नेपाली राजदूतावासको आवश्यकता परेमा समयमै आफ्नो सुनवाइको मिति राजदूतावासलाई जानकारी गराउनुहोस् ।
२. सवारी चालको रूपमा साउदी अरब आएका कामदारहरूले सवारी चालक अनुमति पत्र बेगर सवारी चलाएर दुर्घटना भई धेरै नेपालीहरुको निधन भएको छ । सवारी चालक कामदारले कम्तीमा सवारीको तेस्रो पक्ष वीमाको कागजात , सवारी चालक अनुमती पत्र तथा नभइ नहुने अन्य कागजात नभएका सवारी नचलाउनुहोस । सवारी चलाउन वाध्य पार्ने अवस्था भएमा सो कम्पनीको विवरण सहित राजदूतावासमा सूचना दिनुहोस् र राजदूतावासको सुझाव अनुसार गर्नुहोस् ।
३. आफूले नचिनेको व्यक्तिलाई आफ्नो सवारी साधनमा नचढाउनुहोस । कुनै गैरकानूनी काम गरी भागेको मानिसले समेत तपाइको सवारीमा लिफ्ट मागेको हुनसक्दछ । तसर्थ , चनाखो हुनुहोस् ।
४. मुद्दा / मामिला भई नेपाल फर्केका कामदारले पुनः साउदी अरब आउनु परेमा पुरानो ईकामामा कुनै मुद्दा बांकी भए / नभएको यकिन गरेर मात्र आउनुहोस् । अन्यथा तपाइ विमानस्थलमै पक्राउ पर्न सक्नुहुनेछ ।
५. कुनै पनि कागजातहरुमा सही गर्नुभन्दा अगाडि के कागजात हो भन्ने प्रष्ट हुनुहोला । कतिपय कम्पनीहरुले कामदारहरुले पैसा सापट लिएको । रोजगारी नवीकरण गर्न मन्जुर गरेको वा कम्पनीबाट पाउने फाइदाहरु लिइसकेको लगायतका कागजातमा सही गराउने गरेको पाइएको छ । कम्पनीको प्रतिनिधि वा साथी कसैले कुनै कागजातमा सहि / छाप लिन प्रलोभन देखाएको भरमा वा केही फरक पर्दैन भनेको भरमा कागजातहरुमा सही नगर्नुहोस । कुनै पनि कागजातमा भएको सहीलाई अदालतले बलीयो प्रमाणका लिनेगरेका छन् । पछि मलाइ थाहा थिएन आदि भनेर कुनै अर्थ नरहने तर्फ सचेत हुनुहोस् ।
नेपाली दूतावास रियादले माथिका सम्पुर्ण बुँदाहरु राम्रोसंग र पटक पटक बढी आफूलाई सजग र सचेत राख्नु हुन सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।
नेपाली दूतावास रियादको सम्पर्क नमबर हरु तलको लिन्क मा हेर्नु होला





