
काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्तारुढ गठबन्धनले दर्ता गरेको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले महाअभियोग प्रस्ताव लोकतन्त्र, स्वतन्त्र न्यायपालिकाको प्रहार, निर्वाचित तथा सत्ता र विपक्षी दलबीच बढ्दै गएको संवादलाई विथोल्ने प्रयास भएको निष्कर्ष निकालेको छ ।
‘भर्खरै बन्दै गएको प्रणालीलाई अस्थिरत बनाउने र नेपाललाई नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यअनुसार यो कदम अघि बढाइएको निष्कर्षमा साथ यस विषयमा गम्भीर रुपमा प्रतिवाद गर्न आवश्यक छ,’ बैठकपछि एमाले महासचिव शंकर पोखरेलले भने ।

