सुरक्षा बैठकको निष्कर्ष : फर्जी ‘सुकुम्बासी’ को प्रदर्शनपछि घटना

  • २६ आश्विन २०७८, मंगलवार १०:२७ मा प्रकाशित
  • सरकारले रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको सरकारी जग्गा कब्जा गर्न संगठित गिरोहले ‘फर्जी सुकुम्बासी’ भेला गरेर प्रदर्शनमा उतारेपछि घटना भएको निष्कर्ष निकालेको छ । गृहमन्त्री वालकृष्ण खाँणको अध्यक्षतामा सोमबार विहान मोतिपुर घटनालाई लिएर सुरक्षा बैठक बसेको थियो ।

    बैठकमा सुरक्षा प्रमुखहरुले मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न केही दिन अघिबाटै झापादेखि कञ्चनपुरसम्मका विभिन्न जिल्लाबाट फर्जी सुकुम्बासीलाई बुटवलमा उतारेको जानकारी गराएका थिए।

    सुरक्षा बैठकमा नेपाली सेनाका रथी वालकृष्ण कार्की, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले सुकुम्बासीका नाममा फर्जी समूह खडा गरेर जग्गा हडप्ने र त्यही जग्गा पछि बेचविखन गरेर सम्पत्ति आर्जन गर्ने गिरोहको योजना रहेको बताएका थिए।

    बैठकमा गृहमन्त्री खाणले सरकारी जग्गा हडप्न सक्रिय गिरोहकै कारण अनाहकमा केही नागरिकले ज्यान गुमाउनु परेको पनि सरकारको निष्कर्ष छ।

    बैठकमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सरकारले कसैको उक्साहटमा हुने आपराधिक कार्यमा नलाग्न पनि सबैलाई अपील गरेको छ। यस्तै प्रदर्शनमा संयमता अपनाउन पनि सुरषा निकायलाई निर्देशन दिएको छ।

    कानुन विपरित बल प्रयोग गरिएको पाइए सुरषाकर्मीमाथी समेत विभागीय कारबही हुने चेतावनी गृहमन्त्री खाणले दिएका छन्। अहिले मोतिपुर क्षेत्र सशस्त्र प्रहरीको घेरामा राखिएको छ।

    ३ सय बढी सुरक्षाकर्मी त्यहाँ परिचालन गरिएको छ। गृह स्रोतका अनुसार बैठकमा सुरक्षा प्रमुखहरुले मोतिपुर क्षेत्रका करिव ७५/८० परिवार खास सुकुम्बासी रहेको र उनीहरुको व्यवस्थापन सरकारबाट हुनुपर्ने तर त्यसलाई नै भजाएर नक्कली सुकुम्बासी परिवार खडा गर्ने योजनाबाट मानिस भेला गरेको ब्रिफिङ गरेका थिए।

    त्यसपछि गृहमन्त्री खाणले कुनैपनि हालतमा सरकारी सम्पत्ति हडप्न नदिन र त्यसका लागि आवश्यक सुरक्षा प्रवन्ध मिलाउन गृहसचिव टेकनारायण पाण्डेलाई निर्देशन दिएका थिए।

    मन्त्री खाणको निर्देशनपछि गृहसचिव खाणले रुपन्देही प्रशासन र सुरक्षा निकायका प्रमुखालई जग्गा हडप्न नदिन र त्यसका लागि सुरक्षा तैनाथी बाक्लो बनाउन निर्देशन दिएका छन्।

    ‘मोतीपुर औद्योगिक क्षेत्रमा ७०/८० घरधुरी पर्छन्, उनीहरुको व्यवस्थापन सरकारबाट हुनुपर्छ, त्यसभन्दा बाकी कोहीपनि त्यहाँसुकुम्बासी छैनन्,’ सुरक्षा बैठकमा गरिएको छलफल उल्लेख गर्दै स्रोतले भन्यो, ‘तर झापा देखि कञ्चनपुरलगायत दर्जनौं जिल्लाबाट कसरी हजारौं मानिस आए? ष्सले पनि पुष्टि गर्छ की औद्योगिक क्षेत्रमा सुकुम्बासीको संख्या बढाएर भूमाफिया, गुण्डागर्दी र केही राजनीतिक दलहरु नै जग्गा कब्जा गरेर धन आर्जन गर्ने योजनामा लागेका छन्।’

    मोतिपुर घटनामा सोमबार ४ जनाको मृत्यु भएको छ। प्रहरी र सशस्त्रका ५० भन्दा बढी अधिकृत तथा जवान घाइते भएका छन। प्रदर्शनमा करिब ६ हजार मानिस भेला भएको सुरक्षा रिपोर्ट गृहमा पुगेको छ। प्रदर्शनमा सहभागी धेरैजसो मानिस वुटवल बाहिरका छन्।

    सुरक्षा समिति बैठकपछि गृह मन्त्रालयका सहायक प्रवक्ता दिलकुमार तामाङद्धारा जारी विज्ञप्तिमा पनि निर्धारित काननी विधि र प्रक्रियाभन्दा बाहिर गएर सरकारी वा साबैजनिक जग्गा अतिक्रमण गर्ने जोसुकैलाई पनि कानुनबमोजिम कारबाहीको दायरामा ल्याइने उल्लेख छ।

    गृहले ‘‘सैको बहकाउमा परी यस किसिमको गैरकानुनी कार्यमा संलग्न नहुन’ पनि सबैमा आग्रह गरेको छ। बैठकले सार्बजनिक तथा सरकारी सम्पत्तिको संरक्षणमा सुरक्षाकर्मी र प्रशासनका कामकारबाहीलाई अवरोध पुर्‍याइए जोकोहीलाई पनि कानुनी दायरामा ल्याउन पनि निर्देशन दिएको छ।

    यसैबीच मोतिपुर घटनामा प्रदर्शनकारीको ढुंगामुढा र हिंसात्मक झडपमा परी घाइते भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका २/२ जना सुरक्षाकर्मीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

    प्रहरी जवानद्धय जयकुमार थारु र गेहराज पुन मगर तथा सशस्त्र प्रहरी हवल्दार तिलक धामी र सहायक हवल्दार खुसीराम चौधरीलाई उपचारका लागि मंगलबार बिहान काठमाडौं ल्याइएको हो। प्रहरी जवानद्धयलाई प्रहरी अस्पताल महाराजगञ्ज र सशस्त्रका हवल्दारद्धयलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको छ। आइतबारको झडपमा प्रहरीका ३० र सशस्त्र प्रहरीका १९ सुरषाकर्मी घाइते भएका थिए।

    Leave a Reply