
असोज दोस्रो सातादेखि हल खुल्ने भएका छन् । नेपाली निर्माताहरुले दसैं लक्षित गरेर फिल्म प्रदर्शन गर्ने तयारी थालेसँगै हल खोल्ने तयारी भएको हो ।
यसअघि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले उपत्यकाभित्रका हल खोल्ने अनुमति दिएको थियो। तर हलहरुको छाता संगठन चलचित्र संघले नेपालभरको हल खोल्ने अनुमति दिनुपर्ने भन्दै हल नखोल्ने निर्णय गरेको थियो।
अब भने आफूहरु असोज दोस्रो साताबाट नेपालभरकाहल खोल्ने तयारीमा पुगेको चलचित्र संघका अध्यक्ष मदुसुधन प्रधान बताउँछन्।
‘हामीले हल खोल्ने तयारी गरिरहेका छौं नै। पहिला पनि हामीले कोभिडको समयमा हल खोलेका थियौं। तर हलले फिल्म नै पाएन। तर यसपालि ढिला भए पनि तयारीका साथ खोलौं भन्ने हिसाबले छलफलहरु गरिरहेका छौं, ‘प्रधानले भने, ‘८/१० फिल्मको प्रदर्शन क्यालेन्डर बनाएरै फिल्म हल खोल्ने तयारी हो। अब फिल्म हलमा नभएर बन्द गर्नु नपरोस् भन्ने उद्देश्यले हामी अगाडि बढाइरहेका छौं। जिल्ला प्रशासन कार्यालयले उपत्यकाभित्रको हल खोल्ने अनुमति दियो। उपत्यकाभित्रका हल खोल्दा निर्माता फिल्म दिँदैन। त्यसैले अहिले सबै जिल्लाका सिडिओलाई पत्राचार गर्दैछौं। धेरै ठाउँबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ। यो असोज दोस्रो हप्ताभित्रमा हलहरु खुल्छ। हामी स्वास्थ्य मापदण्ड अपनाएर नै हल खोल्छौं।’
हालै निर्देशक सोभित बस्नेतले असोज २६ फूलपातीको दिनलाई लक्षित गरेर आफ्नो नयाँ फिल्म ‘डाँडाको वर पिपल’ प्रदर्शन गर्ने घोषणा गरिसकेका छन्। कोरोनाको त्रास घटेसँगै महामारीअघि नै प्रदर्शन रोकिएका फिल्महरुले प्रदर्शनको तयारी अगाडि बढाएका छन्।
‘चपली हाइट–३’, ‘हिजोआज भोलि’, ‘लक्का जवान’, ‘म यस्तो गीत गाउँछु’, ‘प्रेमगीत-३’, ‘चिसो मान्छे’ लगायतका फिल्महरुको प्रदर्शन पक्का गरेर फिल्म खोल्ने तयारीमा छ चलचित्र संघ। ‘अब फिल्म हल खुल्छ। खोल्नै पर्यो। यो निर्माण, वितरण र प्रदर्शनले चलचित्र क्षेत्र चलायमान बनाउन चालेको प्रयास हो। अब अहिले त धेरैले खोप लगाइसके, बजारहरु खुलिसक्यो। अब हामीले आँट गर्न बाँकी हो,’संघका अध्यक्ष प्रधानले भने।

