‘काभ्रे सेवा समाज साउदी अरब’द्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

  • २६ जेष्ठ २०७८, बुधबार १४:०७ मा प्रकाशित
  • काभ्रे । जिल्लाका विभिन्न क्षेत्रका कोभिड–१९ का बिरामीको जीवन रक्षाका लागि सहयोग स्वरूप झण्डै ११ लाख मूल्य बराबरको अक्सिजन कन्सेन्ट्रेटर काभ्रे जिल्ला प्रशासनलाई काभ्रे सेवा समाज साउदी अरबले हस्तान्तरण गरेको छ । सोमबार धुलिखेलस्थित जिल्ला प्रशासन कार्यालयमा सहयोग सामग्री हस्तान्तरण गर्दै काभ्रे सेवा समाज साउदी अरबको कोषाध्यक्ष अजयकुमार त्रिपाठीले स्वास्थ्य सामग्री हस्तान्तरणसम्म आइपुग्दा सहयोग गर्नुहुने सम्पूर्णमा काभ्रे सेवा समाजको तर्फबाट हार्दिक आभार तथा धन्यवाद ब्यक्त गरेका छन् ।
    ‘काभ्रेको विकास गरौँ सबै मिली, एकजुट हौँ साउदी अरबमा काभ्रेली’ भन्ने मूल नाराका साथ विदेशी भूमि साउदी अरबलाई कर्मभूमि बनाएर विभिन्न क्षेत्रमा छरिएर रहेका सम्पूर्ण काभ्रेलीहरूलाई एकीकृत गर्दै १४ अप्रिल २०१७, शुक्रबार (२०७४ बैशाख १ गते) का दिन ‘काभ्रे सेवा समाज, साउदीअरब’ को स्थापना गरेको त्रिपाठीले बताए । उनले अहिले सो संस्था चार वर्ष पूरा भएर पाँच वर्षमा चल्दै गर्दा यस अवधिमा काभ्रे सेवा समाज साउदी अरबले साउदी अरबमा नेपाली समुदायभित्र तथा नेपालको काभ्रे जिल्लालगायत अन्य ठाउँहरूमा विभिन्न सामाजिक तथा परोपकारी कामहरूमा तन, मन, धन (आर्थिक, नैतिक, भौतिक) सबै कुराहरूले साथ र सहयोग गर्दै आइरहेको कुर पनि बताए । उनले विश्व महामारीको रूपमा फैलिएको कोरोनाले धेरै नेपालीले ज्यान गुमाइरहेका र स्वास्थ्य संकट पैदा भएको भन्दै देशमा आइपरेको यस स्वास्थ्य संकटबाट नेपालीलाई बचाउन विभिन्न सहयोगहरू गर्ने क्रमअन्तर्गत उक्त सहयोग काभ्रे जिल्लालाई गरिएको बताए ।
    यस समाजले सुरुदेखि नै संस्थाको उद्देश्य अनुरूप विभिन्न काम गर्दै आइरहेको छ । जसमा साउदीअरबमा पीडित अवस्थामा भेटिएकी काभ्रेपलान्चोक, खनालथोक–१ घर भएकी मन्जु मैनालीलाई समाजले रियाद–काठमाडौं सम्मको हवाइ टिकट, काभ्रे पाँचखाल नपा–११ निवासी प्राणघातक अप्लेस्टिक एनिमिया रक्त रोगबाट ग्रसित रत्नमान लामालाई बोनम्यारो प्रत्यारोपणका लागि २० हजार, दुबईको अस्पतालमा उपचार गराइरहेका तनहुँका देवराज श्रेष्ठको उपचारका लागि ५६ हजार सहयोग गरेको थियो ।
    त्यसैगरी जनता बैंकको सहकार्यमा न्युज २४ टेलिभिजनले सञ्चालन गरेको ‘न्युज २४ जनता बैंक विपत्ती राहत कोष’ का लागि ५५ हजार ५ सय ५, बाढीपीडितको सहयोगार्थ सुरु गरेको अभियानमा २० हजार, धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा निर्माण गरिएको एकीकृत नमुना सन्तपुर बस्ती रौतहटका लागि ५५ हजार ५ सय ५ र काभ्रे सेवा समाज, साउदी अरबको प्रथम वार्षिकोत्सव समारोहमा १० लाखको ‘शैक्षिक विकास अक्षय कोष’को सुरुआत गरेको छ ।
    सोही कोषको रकमबाट सोमबार १२ वटा अक्सिजन कन्सट्रेटर काभ्रे जिल्लाको विभिन्न नगरपालिका गाउँपालिकाहरूमा पुगोस् र कोरोना संक्रमितहरूलाई अक्सिजन दिनमा मद्दत पुगोस् भनेर जिल्ला प्रशासनमार्फत जिल्ला जनस्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिएको बताए । यस्तै कोरोनाको कारण नेपालमा देखिएको समस्या न्यूनीकरण गर्न र नेपालीको जीवन रक्षार्थ गैरआवासीय नेपाली संघ मध्यपूर्व र साउदी अरबले सञ्चालन गरेको सहयोग संकलन अभियानमा एक लाख र साउदी अरबमा नेपालीहरूलाई परेका हरेक समस्याहरूमा काभ्रे सेवा समाज सदैब अग्रपंक्तिमा रहेर सहयोग गर्दै आएको बताए । सो संस्थाले आफ्नो देश नेपालमा (विशेष गरी काभ्रे जिल्लामा) स्थापना कालदेखि नै हरेक क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।

    Leave a Reply