अमेरिकालाई ‘दुर्गन्ध नफैलाउन’ किम जोङकी बहिनीको चेतावनी

  • ३ चैत्र २०७७, मंगलवार १३:३२ मा प्रकाशित
  • ३ चैत, काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले अमेरिकालाई ‘दुर्गन्ध नफैलाउन’ चेतावनी दिएकी छिन् ।
    अमेरिकी राष्ट्रपति जो बाइडनले अहिले कोरियाली रणनीति तयार गरिरहेको अवस्थामा उत्तर कोरियाली अधिकारीले यस्तो चेतावनी दिएकी हुन् ।
    स्थानीय सञ्चारमाध्यममा बोल्दै किम यो जोङले संयुक्त सैन्य अभ्यासको विषयलाई लिएर अमेरिका र दक्षिण कोरियाको आलोचना गरिन् । अमेरिकी शीर्ष अधिकारीको दक्षिण कोरिया भ्रमण सुरु हुनुपूर्व किम यो जोङको यस्तो भनाइ आएको हो ।
    अमेरिकी सरकारले यसअघि उत्तर कोरियासँग कूटनीतिक सम्पर्कको लागि प्रयास भइरहेको बताएको थियो । उत्तर कोरियाले अझै पनि अमेरिकी राष्ट्रपति जो बाइडनलाई मानेको छैन ।
    उत्तर कोरियाको न्युक्लियर र ब्यालेस्टिक मिसाइलको कार्यक्रमको विषयमा दुई मुलुकबीच सधैँ विवाद रहँदै आएको छ ।
    स्थानीय सञ्चारमाध्यममा बोल्दै किम यो जोङल अमेरिकाले समुद्रपारीबाट उत्तर कोरियामा सैन्य हतियारको गन्ध फैलाइरहेको बताइन् । उनले भनिन्, ‘यदि अमेरिका आगामी चार वर्षसम्म शान्ति कायम राख्न चाहन्छ भने आफ्नो पहिलो कदमको रुपमा दुर्गन्ध फैलाउने काम बन्द गर्नु राम्रो हुन्छ ।’
    उनले उत्तर कोरिया संयुक्त सैन्य अभ्यासको विरुद्धमा रहेको बताइन् । यद्यपि उनले उत्तर कोरियाले यस्तो किसिमको कदम चाल्न सक्छ भन्ने विषयमा भने केही बताइनन् ।
    यसअघि पनि उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाबीच हुने सैन्य अभ्यासको विरोध गर्दै आएको थियो । यसपटक पनि उत्तर कोरियाले अमेरिकालाई चेतावनी दिन सक्ने अनुमान गरिएको थियो ।
    अमेरिकी राष्ट्रपति जो बाइडनले उत्तर कोरियामा अमेरिकी नीतिबारे पुनरवलोकनको घोषणा गरिसकेका छन् । आगामी महिनामा अमेरिकाको उत्तर कोरिया नीति सार्वजनिक हुने अपेक्षा छ ।

    Leave a Reply