फागुन २३ गतेदेखि ६० वर्ष माथिका नागरिकलाई खोप दिइने

  • ५ फाल्गुन २०७७, बुधबार २०:२२ मा प्रकाशित
  • सरकारले फागुन २३ गतेदेखि ६० वर्ष उमेर समूहमाथिका नागरिकलाई कोरोना भाइरसविरूद खोप दिने तयारी गरेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले फागुन २३ गतेदेखि तोकिएका सबै खोप केन्द्रहरूबाट ६० वर्ष उमेरमाथिका सबैलाई खोप लगाइने जानकारी दिए।

    सरकारले जेष्ठ नागरिकलाई खोप पाउने प्राथमिकताको सूचीमा माथि राखेपनि त्योभन्दा अगाडि पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई खोप दिएपछि त्यसको आलोचना भएको थियो।

    सामाजिक सञ्जालमा धेरैले बढी जोखिममा रहेका जेष्ठ नागरिकलाई अरुभन्दा पहिले खोप दिनुपर्ने धारणा राखेका थिए। स्वास्थ्य मन्त्रालयले भने जेष्ठ नागरिकलाई खोप दिन एकैचोटी समुदायमा जानुपर्ने र ठूलो मात्रामा खोप आवश्यक पर्ने भन्दै जेष्ठ नागरिकलाई सुरुमा खोप दिन नसकेको बताउँदै आएको थियो।

    सुरुमा स्वास्थ्यकर्मी र अन्य फ्रन्टलाइनरहरूलाई खोप लगाइएकोमा अहिले सरकारी कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिहरूलाई खोप दिइँदैछ।

    साथै सरकारले छिटै भारतबाट थप २० लाख डोज खोप खरिद गरेर ल्याइने जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले भारतबाट खोप ल्याउन राष्ट्र बैंकमार्फत अग्रिम पैसा पठाइने बताएका छन्।

    यसअघि भारतले नेपाललाई अनुदानमा १० लाख डोज खोप दिएको थियो। अहिले लगाइरहेको खोप उक्त खोप नै हो।

    Leave a Reply