
प्रधानन्यायाधीश जबराले भने, ‘संसद विघटनकाे व्यवस्था छ, माध्यम के हाे भन्ने मुख्य कुरा हाे’
प्रधानन्यायाधीश जबराले संविधानमा संसद विघटनकाे व्यवस्था भए पनि माध्यम के हो भन्ने मुख्य कुरा रहेकाे बताएका छन् । इजलास सुरु हुनासाथ कानुन व्यवसायीहरूले प्रतिनिधिसभा विघटनविरुद्ध परेका निवेदनमाथिको सुनुवाइ गर्न गठित संवैधानिक इजलासमाथि प्रश्न उठाएपछि प्रधानन्यायाधीश जबराले इजलासमाथि शंका नगर्न अाग्रह गर्दै संसद विघटनकाे माध्यमतिर केन्द्रित हुनुपर्ने बताएका हुन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन गरिएको छ । जबरा नेतृत्वको इजलासमा अन्य चारजना न्यायाधीश तोकिएका छन्, जसमा हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।
न्यायपरिषद्ले संवैधानिक इजलासका लागि प्रधानन्यायाधीशसहित १४ जना न्यायाधीशको नाम यसअघि तोकेको थियाे । तीमध्येबाट जबराले आफूसहित पाँच जनाको इजलास गठन गरेका हुन् ।
बुधबार आफ्नो एकल इजलासबाट प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट संवैधानिक इजलासमा प्रस्तुत गर्न आदेश दिएका प्रधानन्यायाधीश जबरा नेतृत्वकाे इजलासले शुक्रबारदेखि नै निवेदनहरूको सुनुवाइ थाल्नेछ ।
प्रतिनिधिसभा विघटनविरुद्ध दर्जनभन्दा बढी रिट परेका छन् । नेकपा विवादका कारण सरकारले चालेकाे यस्ताे कदमपछि धेरैकाे ध्यान सर्वाेच्च अदालततिर माेडिएकाे छ ।

