
कैलाली – टीकापुर घटनामा रेशम चौधरीलाई उच्च अदालतले पनि जन्मकैदको फैसला सुनाएको छ। ६ भदौ २०७२ मा ८ जना सुरक्षाकर्मी र एक नावालक गरि ९ को ज्यान जाने गरी भएको कैलालीको टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई उच्च अदालतले पनि जन्मकैदको फैसला सुनाएको हो।
बिहीबार उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम मण्डलको ईजलासले रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको हो। दिपायल उच्च अदालतले यसअघि कैलाली जिल्ला अदालतले रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको फैसला सदर गरिदिएको हो।
उच्च अदालतले, यसअघि ३ वर्षको कैद सजाय पाएर मुक्त भएका लक्ष्मण चौधरीलाई पनि जन्मकैदको सजाय तोकेको छ। जिल्ला अदालत कैलालीले लक्ष्मण चौधरीलाई तीन वर्षको सजाय फैसला गरेको थियो। उनी तीनवर्ष भन्दा बढी पुर्पक्षमा रहेकाले जिल्ला अदालतको फैसलापछि छुटिसकेका थिए।
यसअछि कैलाली जिल्ला अदालतले पनि रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो। सोही फैसलालाई उच्च अदालतले पनि सदर गरेको उच्च अदालत दिपायलले जनाएको छ। रेशम चौधरी सहितका ५८ जनाका विरुद्ध पीडितहरुले कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी गरी तीन थरिका मुद्धा दिएका थिए।
रेशम चौधरी प्रतिनिधि सभामा भारी मतान्तरले जितेपछि २०७५ को फागुनमा मात्रै सार्वजनिक भएका थिए। उनले सार्वजनिक भए पनि जिल्ला अदालत कैलालीले उनलाई जन्मकैदको सजाय सुनाएको थियो।
कैलालीका जिल्ला न्यायाधीश परशुराम भट्टराईको ईजलासले घटनामा रेशमसहित हरि नारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डँगौरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भनिने सिताराम चौधरी, गंगाराम चौधरीलाई जन्मकैद (२० वर्ष) को फैसला सुनाएको थियो।
कैलाली जिल्ला अदालतले २०७५ सालको फागुन २२ गते रेशमलाल चौधरी सहितका ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो भने पक्राउ परेका लक्ष्मण चौधरीसहित अन्य १२ जना तीन वर्षसम्मको कैद सजाय फैसला भएकाले तत्कालै छुटेका थिए।हिमालीसंचार ।

