
रोल्पा, १६ मंसिर
रोल्पाको थबाङ गाउँपालिकामा १५ शैयाको अस्पताल भवनको शिलन्यास गरिएको छ । लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन सिजलले सोमबार थबाङ गाउँपालिका १ झकेबाङमा जलजला अस्पताल तथा अनुसन्धान केन्द्र भवनको शिलान्यास गर्नु भएको हो ।
नेपाल सरकारको पाँच वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा १५ शैयाको अस्पताल बनाउने अभियान बमोजिम उक्त स्थानीय तहमा अस्पताल भवनको शिलान्यास गरिएको हो । यस अस्पताल भवनको शिलान्यासले ग्रामीण क्षेत्रका जनतालाई सहजै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने नेपाल सरकारको नीति अवश्य सफल हुने देखिन्छ ।
बहुबर्षीय योजना अन्तर्गत १८ करोडको लागतमा उक्त अस्पताल निर्माण सम्पन्न हुनेछ । यस वर्ष संघीय सरकारबाट एक करोड बजेट बिनियोजन गरिएको छ । हाल अस्पताल डिपिआरको काम भैरहेको र डिपिआर रिर्पोट आएपश्चात टेण्डर आव्हान गरिने थबाङ गाउँपालिका स्वास्थ्य शाखा संयोजक तुल बहादुर पुनले जानकारी दिनुभयो ।

भवन शिलान्यास कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन सिजल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष मौसम रोका, बरिष्ठ अर्थोपेडिक सर्जन जापानिज स्वयमसेवक डा.रियुकिची इसिदा, गाउँपालिका अध्यक्ष वीर बहादुर घर्ती लगायतका महानुभावले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सन्चालन थबाङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेवत बहादुर बुढाथोकीले गर्नुभएको थियो ।

