शंकर पोखरेललाई पार्टी अध्यक्ष बनाउन ओलीको प्रस्ताब, अगाडि नै महासचिब बनाउने तयारी

  • २७ कार्तिक २०७७, बिहीबार १०:३३ मा प्रकाशित
  • काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना अति बिश्वासनीय नेता शंकर पोखरेललाई पार्टी अध्यक्ष बनाउने तयारी थालेका छन् । पार्टीको अबको नेत्तृत्व ६० बर्ष वरिपरिको दोस्रो पुस्तामा हस्तान्तर गर्ने प्रस्ताब सार्बजनिक गर्दै यस्तो तयारी गरेका हुन ।
    आफूपछि पार्टीको नेत्तृत्व दोस्रो पुस्तालाई दिनुपर्ने ओलीको प्रस्ताब छ । ६० बर्ष उमेरको प्रस्ताब शंकर पोखरेलको उमेरलाई हेरेर गरिएको स्रोतले बताएको छ । यो उमेर कायम भए ओली समूहका नेत्तृत्वका आकांक्षीहरु ईश्वर पोखरेल र सुबास नेम्वाङ स्वतः प्रतिश्पर्धाबाट बाहिरिने छन् । अर्का अध्यक्ष प्रचण्ड,बरिष्ठ नेता माधब नेपाल र झलनाथ खनालले पुनः नेत्तृत्वको आकांक्षा प्रकट गरिरहेको बेला ओलीको यस्तो प्रस्ताबले उक्त पार्टीभित्र नयाँ हलचल ल्याएको छ । यो प्रस्ताबले ओली अर्का अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताद्वय नेपाल र खनालभन्दा एक कदम अघि देखिएका छन् । यसले पहिलो पुस्ताका नेता रक्षात्मक बनेका छन् । अरु पुस्ताका नेता तथा कार्यकर्ताहरु भने उत्साहित बनेका छन् । ओलीको यो प्रस्ताबले पार्टीभित्र नयाँ धु्रबीकरण हुने निस्चित देखिएको छ ।
    यसअघि तत्कालीन नेकपा एमालेको नवौं महाधिबेशनमा पनि ओलीले नेत्तृत्व हस्तान्तरणको एजेण्डा अघि सारेका थिए । त्यसबेला ओलीलाई नेत्तृत्व दिन नहुने पार्टीभित्र बलियो जनमत थियो । तर नेत्तृत्व हस्तान्तरको एजेण्डा अघि सारेपछि उनका प्रतिश्पर्धी माधब नेपाल रक्षात्मक हुन पुगेका थिए । प्रतिनिधि छनोट गर्दासम्म बलियो देखिएका माधब नेपाल यही नेत्तृत्व हस्तान्तरको एजेण्डाका कारण कमजोर बन्न पुगे र ओलीले पार्टी नेत्तृत्वमा बाजी मारे ।
    अहिले पनि ओलीले नेत्तृत्व हस्तान्तरणको एजेण्डा अघि सारेर प्रचण्ड–माधब समूहलाई रक्षात्मक बनाई दिएका छन् । यो एजेण्डा पार्टीभित्र स्वस्फूर्तढंगले अनुमोदन हुने अन्य नेता तथा कार्यकर्ताहरु बताउँछन् । पहिलो पुस्ताका नेताहरुले नेत्तृत्व सुम्पेर अबिभाबक बन्नुपर्छ भन्ने मान्यता राख्ने नेता, कार्यकर्ताहरुले यो एजेण्डालाई अन्तरआत्मादेखि स्वीकार गर्ने परिस्थिति निर्माण हुने देखिएको छ । यो एजेण्डाले पार्टीमा अहिलेको समीकरण परिबर्तन हुने पनि देखिन्छ । पार्टीभित्र अब नयाँ पुस्तामा नेत्तृत्व हस्तान्तरको बिषयले नयाँ समीकरण बन्ने नेता, कार्यकर्ताहरुको अनुमान छ ।
    पहिलो पुस्ताबाट नेत्तृत्व हस्तान्तरणको कसरत पहिलेदेखि नै हुदै आएको थियो । तीन महिनाअघि पार्टीभित्र अन्तरबिरोध चर्केर पार्टी नै बिभाजन हुने अबस्थामा पुगेको बेला ११ जना नयाँ पुस्ताका स्थायी समितिका सदस्यहरुले पार्टीभित्र एकता कायम गर्दै अब नयाँ पुस्तामा नेत्तृत्व लैजानुपर्छ भन्ने अभियान सन्चालन भएको थियो । पहिलो पुस्ताका नेताहरुबिच अनेकता र ब्यक्तित्व टकराबका कारण पार्टीमा ठूलो क्षति हुने सक्ने भएकाले अब नयाँ पुस्तालाई पार्टीको जिम्मा लगाएर पहिलो पुस्ता अबिभाबकको भूमिकामा रहनुपर्छ भन्ने कुरा त्यति बेलै प्रचारमा ल्याइएको थियो । यसमा सुरेन्द्र पाण्डे, भीम रावल, शंकर पोखरेल, योगेश भटराई, घनश्याम भुसाल, जनार्दन शर्मा, रामबहादुर थापा र बर्षमान पुनहरु सक्रिय थिए ।
    तर यसको योजना पनि ओलीले तयार पारेका थिए । उन्कै योजनामा शंकर पोखरेलहरुको सक्रियता बढेको थियो । ओली आफूपछि जसरी भए पनि पार्टीलाई शंकर पोखरेलको जिम्मा लगाउन चाहन्छन् । सुरुमा ओली समूहले आफूपछि राष्ट्रपति बिद्यादेबी भण्डारीलाई राजनीतिमा सक्रिय बनाउने रणनीति बनाएको थियो । राष्ट्रपति भण्डारीको दुई कार्यकालको अबधि पनि सकिने, गुट पनि प्रभाबकारीढंगले सन्चालन गर्न सक्ने र उमेर पनि पर्याप्त रहने हुनाले ओलीले पार्टीको आफ्नो उत्तराधिकारी भण्डारीलाई बनाउने तयारी गरेका थिए । तर देशको राष्ट्राध्यक्ष भइसकेको ब्यक्तिलाई राजनीतिमा सक्रिय बनाउदा नराम्रो सन्देश जाने र यसको फाइदा प्रचण्ड माधब समूहले उठाउने संभाबना देखिएपछि यो रणनीति अन्त्य गरेर ओली शंकरतिर लागेको बताइन्छ ।
    ओलीले शंकर पोखरेललाई नेत्तृत्वमा लैजान सबै प्रकारका गतिबिधि गरिरहेका छन् । पोखरेललाई बलियो बनाउनैका लागि उनले बिष्णु पौडेललाई अर्थमन्त्री बनाएर राजधानी दाङ जिल्लामा लैजाने बाताबरण बनाएका थिए । पोखरेलले प्रदेशको राजधानी दाङमै बनाउने चुनाबताका प्रतिबद्धता जनाएका थिए । तर बिष्णु पौडेलको असहयोगले उनी सफल हुन सकेका थिएनन् । यसले पोखरेललाई निकै नै रक्षात्मक बनाएको थियो । पोखरेलको अबस्था राम्रोसँग बुझेका ओलीले बिष्णुलाई अर्थमन्त्रालय दिएर राजधानी भालुवाङ लगेर पोखरेलको प्रतिबद्धता पुरा गराई दिए । यसले पोखरेललाई राजनीतिकरुपमा निकै शक्तिशाली बनाएको छ ।
    ओलीले अन्तरबिरोधका कारण पार्टी चरम संकटमा परेको बेला पार्टीलाई बिभाजनबाट रोक्न बनाइएको ६ सदस्यीय कार्यदलमा शंकरलाई समाबेश गरेर उन्को पार्टीभित्रको हैसियत पनि ह्वात्तै बढाइ दिएका थिए । शंकरभन्दा ओली समूहमा सुबास नेम्वाङ र ईश्वर पोखरेल सिनियर नेता थिए । तर कार्यदलमा शंकरलाई राखेर ओलीले अबको आफ्नो उत्तराधिकारी उनै हुन भन्ने सन्देश प्रबाह गरेका थिए ।
    आफ्नो समूहमा शंकरलाई नेत्तृत्व दिन अबरोधका रुपमा बामदेब गौतम, बिष्णु पौडेल र ईश्वर पोखरेल हुन भन्ने ओलीलाई सुरुदेखि नै ज्ञान थियो । सुबास नेम्वाङ् लामो समय सभामुख भएकाले उनको संगठनमा पकड नभएकाले उन्लाई पार्टीबाहिर नै ब्यबस्थापन गर्ने ओलीको सोच देखिन्छ । नेम्बाङबाहेक गौतम, पौडेल र ईश्वर नै शंकरका बाधक हुन भनेर ओलीले पालैपालो सबैलाई अत्यन्त बिबादित बनाई सकेका छन् । गौतम पार्टीको नेत्तृत्व के साँसदको लागि रोइकराई गर्दासमेत ओलीले बिभिन्न जालझेल गरेर किनारा लगाई दिए । बिभिन्न प्रलोभन दिने र बिबादित बनाउने ओलीको रणनीतिले बामदेबको ब्यक्तित्व समाप्त भएको छ ।
    ईश्वरलाई प्रभाबशाली मन्त्रालय नदिएर किनारा लगाउँदै अहिले बिनाबिभागीय मन्त्रीमा थन्क्याई दिएका छन् । ओम्नी प्रकरण, यति प्रकरणमा नियोजितढंगले ईश्वरलाई मुछेर उन्लाई पनि समाप्त गरिदिए । बाँकी रहेका बिष्णु पौडेललाई पनि अर्थमन्त्रालय दिएर राजकीय भूमिकामा सक्रिय गराउँदै पार्टीको भूमिकाबाट अलगथलग गराउने प्रयास गरेका छन् । केही महिनाभित्रै महासचिबको जिम्मेवारीबाट हटाएर त्यो जिम्मेवारी शंकरलाई दिने ओलीको योजना देखिन्छ । यसका लागि शंकरलाई मुख्यमन्त्रीबाट राजीनामा गराउने ओलीको योजना भएको बताइन्छ । त्यस ठाउँमा माओबादीको मुख्यमन्त्री बनाएर प्रचण्ड र माओबादीलाई मनाउने ओली तयारी रहेको स्रोतको दाबी छ ।
    यो बिश्लेसनात्मक खबर ई–आर्थिक मा छापिएको छ !

    Leave a Reply