शुक्र मोक्तान

रियाद/साउदीअरब | अधिराज्य साउदी अरबमा श्रम तथा श्रमिक सम्वन्धित महत्वपूर्ण सुधार सहित नयाँ व्यबस्था लागु गर्ने भएको छ । यस व्यवस्थामा आप्रवासी तथा विदेशी कामदारहरुको लागी कफाला (प्रायोजन) को अन्त्य गरिने भएको छ । यसको अन्त्य आगामी वर्षको मध्य सम्ममा गरिसक्ने छ भने Maaal online business daily को प्रतिवेदन अनुसार यस कदमबाट १० लाख भन्दा बढी प्रवासी कामदारहरु लाभान्वित हुने अपेक्षा गरिएको छ।
साउदी सरकारको मानव श्रोत तथा सामाजिक विकाश मन्त्रालयले आगामी साता यस नयाँ व्यवस्था सम्बन्धि आधिकारिक घोषणा गरिने भएको छ। कफला प्रणाली (प्रायोजन) लाई रोजगारदाता र श्रमिक बीच एक नयाँ प्रकारको अनुबंध मार्फत बदल्ने छ।
कफाला प्रणालीको खारेजीले आप्रवासी कामदारहरूलाई एक्जिट र पुनः प्रवेश भिसा सुरक्षित गर्ने, प्रायोजक (कफाला) बिना अन्तिम निकास प्राप्त गर्ने र प्रायोजकको स्वीकृति बिना रोजगार पाउने स्वतन्त्रता दिनेछ।
सऊदी अरबमा कफाला प्रणाली विगत सात दशक देखि चलिआएको छ । यस प्रणालीले गर्दा श्रमिकहरु शोषणमा परेको भन्दै लामो समय देखि यस कफाला प्रणालीको आलोचना हुँदै आएको थियो । अहिले यस प्रणाली अन्तर्गत दश लाख भन्दा अधिक आप्रवासी कामदारहरु साउदी अरबमा कार्यरत छन् । जसको सर्वाधिकार कफिल (रोजगारदाता)मा निहित रहेको छ । जसको कारण रोजगारदाता परिवर्तन तथा बहिर्गमन/पुनरागमन भिसा रोजगारदाताले नै जारी गर्ने गरेको छ ।

