सूर्योदय हेर्नका लागि नयाँ गन्तव्य लोहाकिल

  • २ पुष २०७६, बुधबार ११:४९ मा प्रकाशित
  • पाँचथर/ सूर्योदय हेर्नलाई पूर्वका दुई प्रसिद्ध स्थान हुन्– इलामको श्रीअन्तु र सन्दकपुर । कल्कलाउँदो झुल्केघामको दृश्य हेर्न प्रत्येक वर्ष सयौं देशी–विदेशी पर्यटक श्रीअन्तु र सन्दकपुर पुग्छन् । नपुग्नेहरू मनमा कहिले पुगौंला भन्ने हुटहुटी पालेर बस्छन् । पुग्नेहरू झुल्केघाम हेर्दै रमाउन दोहो¥याएर, तेहो¥याएर पनि जान्छन् । सूर्योदयको पर्याय जस्तै बनेका छन्– श्रीअन्तु र सन्दकपुर ।

    यी दुई स्थानजस्तै सूर्योदयको सुन्दर दृश्य देखिने अर्को ठाउँ पनि फेला परेको छ–लोहाकिल । पाँचथरको फिदिम नपा–१४, फाल्गुनन्द गाउँपालिका–३ र इलामको सन्दकपुर गाउँपालिकाको सङ्गमस्थलमा रहेको लोहाकिल डाँडाबाट पनि झुल्केघामको सुन्दर दृश्य हेर्न सकिन्छ । ‘तर प्रचार–प्रसारको अभावले लोहाकिल अझै ओझेलमा छ’ –स्थानीय मदन राईले भने ।

    तीन हजार सात मिटर उचाइमा छ, लोहाकिल । त्यहाँबाट कञ्चनजङ्घा, कुम्भकर्ण, सगरमाथालगायतका हिमशृङ्खलाको मनमोहक दृश्यसमेत आँखाभरि भर्न सकिन्छ । लोहाकिल डाँडामा मङ्गलबार बिहान भेटिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता हर्क नेम्वाङ मिक्सोले भने, ‘यहाँबाट पनि श्रीअन्तु र सन्दकपुरबाट जस्तै सुन्दर सूर्योदयको दृश्य नियाल्न सकिँदो रहेछ ।’
    लोहाकिलबाट पनि झुल्केघाम हेर्न सकिन्छ भन्ने सुनेर पहिलोपल्ट आएको नेम्वाङले बताए । टोलीमा सँगै रहेका पत्रकार विजयबोध लाओतीले पनि लोहाकिल सूर्योदयको दृश्यावलोकनका लागि उपयुक्त ठाउँ भएको बताए । उनले भने, ‘तीनवटै स्थानीय सरकारले यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि संयुक्त पहल गरे झुल्केघाम हेर्नलाई वैकल्पिक गन्तव्य बन्छ लोहाकिल ।’

    पर्यटकीयस्थल सुकेपोखरी नजिकै पर्छ, लोहाकिल । मेची राजमार्गको पाँचथरस्थित पौवाभञ्ज्याङ बजारबाट पाँच किलोमिटर मोटर यात्रा गरी सुकेपोखरी पुग्न सकिन्छ । सुकेपोखरीबाट आधाघण्टा पैदल हिँड्दा लोहाकिल पुगिन्छ । जहाँबाट बिहानै हेर्न सकिन्छ, रहरलाग्दो झुल्केघामको दृश्य ।

    लोहाकिलसँगै सुकेपोखरी छ । नजिकै साधुटार, राँके, देउराली, धार्मिक पर्यटकीय क्षेत्र सिलौटी र लब्रेकुटिजस्ता सुन्दर ठाउँ छन् । लोहाकिल यात्रामा निस्कँदा यी सबै ठाउँको एकदिने प्याकेज भ्रमण गर्न सकिन्छ । बेला–बेला आन्तरिक पर्यटक लोहाकिल पुग्ने गरेको स्थानीय सुरेश राईले बताए । प्रचार–प्रसार र प्रवद्र्धनको कमीले छायाँमै रहेको लोहाकिल क्षेत्रको पर्यटन प्रवद्र्धनमा ध्यान दिन स्थानीय सरकारसँग उनले माग गरे । लोहाकिल क्षेत्रलाई सूर्योदय हेर्नका लागि आकर्षक गन्तव्यको रूपमा विकास गर्न पहल गर्ने नेकपा नेता नेम्वाङले बताए ।

    shavhar: blastkhabar

    Leave a Reply