लेबनानको राजधानी बेरुतमा ठूलो विष्फोट, थुप्रै हताहत भएको शंका (भिडिओ)

  • २० श्रावण २०७७, मंगलवार २३:०२ मा प्रकाशित

  • लेबनानको राजधानी बेरुतमा केही समयअघि ठूलो विष्फोट भएको छ। आकाशमा बादल लागेजस्तो आगो र धुवाँको मुस्लो देखिएका भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्।
    बन्दरगाह क्षेत्रमा भएको विष्फोटको प्रभावले वरिपरिका धेरै घरमा क्षति पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
    लेबनानकै राष्ट्रिय समाचार संस्था एनएनएका अनुसार बन्दरगाहमा रहेका गोदाममा उक्त विष्फोट भएको हो, जहाँ विष्फोटक पदार्थहरू भण्डार गरिएको थियो। ती गोदाममा कस्ता खालका विष्फोटक पदार्थ थिए र पड्किनुको कारण के हो भन्ने खुलेको छैन।

    ‘मैले बेरुतको आकाशभरि धुवाँको बादल लागेको देखेँ। मान्छेहरू सडकमा चिच्याउँदै भागाभाग गर्दै थिए। कतिपय रक्ताम्मे देखिन्थे। बन्दरगाह क्षेत्र वरिपरिका धेरै घरमा क्षति पुगेको छ। अग्ला अग्ला घरका सिसा पनि फुटेर भुइँमा चकनाचुर छरिएका देखिन्थे,’ घटनास्थलमा रहेका रोयटर्स संवाददाताले भनेका छन्।

    https://twitter.com/i/status/1290675854767513600

    अर्का रोयटर्स संवाददाताले बन्दरगाह क्षेत्रबाट पहिले ठूलो विष्फोटको आवाज सुनिएको र त्यसपछि आकाशभरि धुवाँको मुश्लो उठेको बताएकी छन्। ‘बजार क्षेत्रका घरहरूमा पनि ठूलो क्षति पुगेको छ। सडकमा जताततै घाइतेहरू देखिएका छन्। सहरमा आतंकको माहोल छ,’ उनले भनेकी छन्।
    स्थानीय सञ्चारमाध्यम एलबिसीले लेबनानका स्वास्थ्य मन्त्रीलाई उद्धृत गर्दै यो घटनामा ‘ठूलो संख्यामा हताहत र क्षति भएको’ उल्लेख गरेको छ।


    Leave a Reply