
दाङ, साउन १९ ।
दाङमा मकै खान आउने जंगली बँदेललाई मार्ने हेतुले मकै बारीमा थापेको करेन्ट लागेर दुई व्यक्तिको मृत्यु भएको छ।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नं. १ हर्नोक दाङ निवासी दिल बहादुर रावतको १० वर्षीय छोरा तेजबहादुर रावत र १४ वर्षीय छोरा वीरबहादुर रावत रहेका छन । ती दाजु-भाइको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको थियो । उक्त घटनामा मृतकहरुका बुवा ३७ वर्षिय दिलबहादुर रावत घाइते भएको र निजको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ।
मकै बारीमा लगाएको मकै जंगली बँदेलले खाइदिएर नोक्सान पारेपछि दिक्क पारेपछि बँदेललाई मार्न आईतवार बेलुका रावत परिवारले नै करेन्टको धराप थापेको र सोमबार बिहान बँदेल त्यसमा परेको छ कि भनेर तीन बुवा-छोरा धराप हेर्न बारिमा पुग्दा करेन्ट लागि दुईजनाको मृत्यु र एकजना घाइते हुन पुगेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।
प्राप्त जानकारी अनुसार सुरुमा दिल बहादुर रावतका सानो छोराले भुलवश करेन्टको धराप छुन पुगेको र भाईलाई बचाउन भनी ठूलो छोराले तान्न जादा दुवै जनालाई करेन्ट लाग्यो । छोराहरु करेन्ट लागि लडेको देखेर आत्तिदै बुवा दिल बहादुर रावत अगाडि बढ्दा करेन्ट लागि उनी पनि लडेका थिए ।
उक्त घटनामा दुई छोराहरूको घटनास्थलमै मृत्यु भए पनि घाइते हुन पुगेका दिल बहादुर रावत संयोगवश बाच्न सफल भएका थिए । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

