पर्सामा ५ थुनुवासहित थप ३२ जनालाई कोरोना

  • ९ श्रावण २०७७, शुक्रबार १०:१५ मा प्रकाशित
  • वीरगन्ज : पर्सामा बिहीबार राति थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको परिक्षणमा प्रहरी हिरासतमा रहेका ५ जना थुनुवासहित ३२ जनामा संक्रमण पुष्टि भएको हो।

    ३२ जना मध्ये स्वेच्छाले आफैले पैसा तिरेर पिसिआर परिक्षण गराएका ९ जना छन्। ती ९ जना र प्रहरी हिरासतमा रहेका ५ जना थुनुवा बाहेक अरु १८ जनाको भने कन्ट्रयाक्ट ट्रेसीङका क्रममा जाच गर्दा पिसिआर रिपोर्ट पोजिटिभ आएको हो। वडा प्रहरी कार्यालय श्रीपुरको हिरासत कक्षमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका ५ पुरुष थुनुवामा संक्रमण भेटिएको पर्सकी प्रहरी उपरिक्षक गंगा पन्तले बताइन्। ती पाचै जना थुनुवा भारतीय नागरिक हुन्।

    हिरासत कक्षमा रहेका ७ थुनुवा मध्ये ५ जनामा संक्रमण भेटिएपछि वडा प्रहरी कार्यालय श्रीपुरलाई सिल गरिएको पन्तले जानकारी दिइन्। नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायका अनुसार आफैलाई शंका लागेर सशुल्क परिक्षण गराएका पर्साको बहुदरामाई नगरपालिका-५ भौराटारका ३३ वर्षीय पुरुष, पकाहामैनपुर गाउँपालिका-३ सवैठवाका ५० र २७ वर्षीय पुरुष, वीरगन्ज महानगरपालिका १० बजरंग टोलका २९ वर्षीय पुरुष, वीरगन्ज १२ मुर्लीका १६ वर्षका २ पुरुष र ३८ वर्षीया महिला, वीरगन्ज २० का ३२ वर्षीय पुरुष, वीरगन्ज २ छपकैयाका ३० वर्षीय पुरुषको पिसिआर रिपोर्ट पनि पोजिटिभ आएको हो।

    कन्ट्रयाक्ट ट्रेसिङमा परेर परिक्षण गरिएका नारायणी अस्पतालका संक्रमित स्वीपरको २३ वर्षीय छोरा, वीरगन्ज वीरगन्ज २९ की २५ वर्षीया महिला, वीरगन्ज १३ की ४८ वर्षीया महिला र ३० वर्षीय पुरुष, छिपहरमाई गाउँपालिका-३ का २३ वर्षीय पुरुष, वीरगन्ज-१० का ६०, ३५ र २९ वर्षीया महिला तथा १४ वर्षका पुरुष, वीरगन्ज-९ घण्टाघरका २५ वर्षीय पुरुष र वीरगन्ज-१३ का ९ महिने बालकमा पनि कोरोना संक्रमण देखिएको हो। बिहीबार राति ३२ जनामा संक्रमण पुष्टि भएसँगै पर्सा जिल्लामा संक्रमितको संख्या २३४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ। यसअघि बुधबार राति पनि एक वृद्ध मृतक र २ चिकित्सकसहित १७ जनामा संक्रमण पुष्टि भएको थियो। अन्नपूर्ण पोस्ट ।

    Leave a Reply