कपिलवस्तु, असार २० – मायादेवी गाउँपालिका–३ ले आर्थिक वर्ष २०८२/८३ अन्तर्गत ‘अध्यक्ष सङ्ग विद्यार्थी कार्यक्रम’ शीर्षकमा विनियोजन गरिएको रु. ६ लाख बजेटबाट वडा नं. ३ अन्तर्गतका सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीलाई ट्र्याकसुट वितरण गरेको छ । जाडो मौसममा बढी उपयोगी मानिने ट्र्याकसुट असार महिनाको गर्मीयाममा वितरण गरिएको छ । वडा अध्यक्ष शैलेन्द्र यादवले ट्र्याकसुट वितरण कार्यक्रम सम्पन्न भएको जानकारी आफ्नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । तर उक्त कार्यक्रमअन्तर्गत कति विद्यार्थीलाई ट्र्याकसुट वितरण गरिएको हो, खरिद प्रक्रिया कसरी सम्पन्न गरियो, प्रति सेट लागत कति परेको हो तथा रु. ६ लाख बजेट कसरी खर्च गरियो भन्ने विवरण हालसम्म सार्वजनिक गरिएको छैन ।
यस विषयमा वडा सचिव शिबगुलाम कलवारसँग सम्पर्क गर्दा उनले वितरण कार्यक्रममा आफू उपस्थित रहेको बताए । तर बजेटको शीर्षक, विनियोजित रकम तथा कार्यक्रमको विस्तृत विवरणबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । “म केही दिनका लागि गाउँपालिकाले सहयोग गर्न पठाइएको कर्मचारी हुँ । त्यसैले उक्त कार्यक्रमको बजेट र विस्तृत विवरणबारे जानकारी छैन,” उनले भने ।
सार्वजनिक बजेटबाट सञ्चालित कार्यक्रम भएकाले लाभग्राही विद्यार्थीको संख्या, खरिद प्रक्रिया तथा खर्च विवरण सार्वजनिक हुनुपर्ने देखिन्छ । विशेषगरी आर्थिक वर्षको अन्तिम चरण अर्थात् असार महिनामा कार्यक्रम सञ्चालन गरिएकाले यसको समय छनोटबारे पनि चासो व्यक्त गरिएको छ ।



