असार २०- धान रोपाइँको मुख्य समयमा रासायनिक मल नपाएर कपिलवस्तुका किसान भारतसम्म पुगेर मल खोज्न बाध्य भइरहेका बेला मायादेवी गाउँपालिका–८ बिजुवास्थित एक राइस मिलमा सहकारीको रासायनिक मल ठूलो परिमाणमा भण्डारण गरिएको अवस्थामा प्रहरीले बरामद गरेको छ ।
किसानहरू दिनहुँ सहकारी र कृषि सामग्री बिक्री केन्द्र धाइरहेका छन् । कतिपय किसान महँगो मूल्यमा भारतबाट मल ल्याउन बाध्य छन् भने धेरैले समयमै मल नपाउँदा रोपाइँ प्रभावित हुने चिन्ता व्यक्त गरिरहेका छन् । यस्तो अवस्थामा सहकारीमार्फत किसानका लागि वितरण हुनुपर्ने मल निजी राइस मिलमा भण्डारण गरिएको अवस्थामा फेला परेपछि किसानमा थप आक्रोश बढेको छ ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरी टोलीले बिहीबार राति बिजुवा पूर्वस्थित उक्त राइस मिलमा छापा मार्दा ४३ बोरा डीएपी र १३८ बोरा युरिया गरी कुल १८१ बोरा रासायनिक मल बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय पकडीका अनुसार बरामद गरिएको केही मल राति नै जिल्ला प्रहरी कार्यालय कपिलवस्तु पठाइएको छ भने बाँकी मल इलाका प्रहरी कार्यालयमै सुरक्षित राखिएको छ ।
प्रहरीले बरामद भएको मल कसको हो, किन र के उद्देश्यले राइस मिलमा राखिएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।
किसानले मलको अभावमा सास्ती खेपिरहेका बेला सहकारीमार्फत वितरण हुनुपर्ने मल राइस मिलमा भेटिनुले मल वितरण प्रणालीको प्रभावकारी अनुगमन र जिम्मेवारीका विषयमा गम्भीर चासो उत्पन्न भएको छ ।


