कपिलवस्तु, बैशाख २३ सरकारले देशभरका सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तोके पनि कपिलवस्तुको मायादेवी गाउँपालिका १ पकडीमा रहेको आयुर्वेद औषधालयमा उक्त नियम प्रभावकारी रूपमा पालना नभएको गुनासो स्थानीय सेवाग्राहीले गरेका छन् ।
स्थानीयका अनुसार औषधालयका प्रमुख तथा कविराज निरीक्षक इन्द्र आर्याल पौडेल नियमित रूपमा बिहान १० बजे मात्र कार्यालय आउने र दिउँसो ३ बजे नै कार्यालय छोड्ने गरेको आरोप लगाइएको छ । यस कारण उपचारका लागि आउने बिरामीहरू सेवा पाउनबाट वञ्चित हुने अवस्था आएको उनीहरूको भनाइ छ ।
स्थानीय सेवाग्राही राजेश तिवारीले आफू उपचारका लागि औषधालय पुगे पनि प्रमुख उपस्थित नभएकाले सेवा लिन समस्या भएको बताए । म उपचारका लागि आएको थिएँ, तर प्रमुख नभेटिँदा सेवा लिन समस्या भयो, उनले भने ।
यस विषयमा पकडी आयुर्वेद औषधालयका कविराज निरीक्षक इन्द्र आर्याल पौडेलले आफ्नो घर रुपन्देहीको ठुठीपिपलमा रहेको र दिउँसो ३ बजेपछि सो स्थानका लागि सवारी साधन उपलब्ध नहुने भएकाले समयअघि नै कार्यालय छोड्नुपर्ने अवस्था रहेको प्रतिक्रिया दिएका छन् ।


