कपिलवस्तु – बैशाख १४
पछिल्लो समय देशभरका सीमा क्षेत्रमा कडाइ बढेसँगै कपिलवस्तुको चाकरचौडामा सुरक्षाकर्मीको कार्यशैलीबारे प्रश्न उठ्न थालेको छ । सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूले भन्सार कार्यालयसम्म नपुग्दै सर्वसाधारणले बोकेको सामान नियन्त्रणमा लिने गरेको गुनासो बढ्दै गएको हो ।
नियमअनुसार भन्सार प्रक्रियाबाट गुज्रिनुपर्ने सामान बाटोमै रोकिँदा सर्वसाधारण अनावश्यक सास्ती भोग्न बाध्य बनेका छन् । यसरी भन्सार नपुग्दै सामान नियन्त्रण गरिनु कानुनी प्रक्रिया विपरीत भएको भन्दै असन्तुष्टि बढ्दो छ ।
यता, प्रस्तावित सीमा सुरक्षा गुल्म चाकरचौडाका सशस्त्र प्रहरी नायब उपरीक्षक दिपेन्द्र बिष्टले भने आफूहरू माथिल्लो निकायको आदेशअनुसार कडाइका साथ ड्युटीमा खटिएको बताएका छन् । उनी दुई दिनअघि मात्रै यस गुल्ममा हाजिर भएका हुन् । उनका अनुसार, “गेटमा नियन्त्रणमा लिएको सामान भन्सार प्रक्रियाका लागि पठाउने गरिएको हो, कसैको सामान जफत गरिएको छैन ।” उनले बसपार्क आसपास दायाँ बायाँतर्फ रहेका वैकल्पिक बाटाहरू प्रयोग गरी अवैध आवतजावत हुन सक्ने भएकाले निगरानी कडा पारिएको पनि बताए ।
भन्सारमार्फत नेपालमा प्रतिबन्धित सामान भएमा सुरक्षाकर्मीले नियन्त्रणमा लिने अधिकार हुन्छ । तर भन्सारयोग्य सामान भने कानुनी प्रक्रिया पूरा गर्न भन्सार कार्यालयसम्म लैजान दिनु पर्ने व्यवस्था रहेको छ ।
तर, स्थानीयले भने फरक अनुभव सुनाएका छन् । बरोहियाका एक स्थानीयले भारतबाट आफ्नो घर प्रयोजनका लागि १५ किलो चिनी ल्याउँदा सीमा गेटमै सामान नियन्त्रणमा लिएर फर्काइएको बताएका छन् । ती स्थानीयका अनुसार, भन्सार गराउन आग्रह गर्दा समेत हालसम्म न त चिनी फिर्ता गरिएको छ, न त भन्सार प्रक्रियाका लागि पठाइएको छ ।
त्यसैगरी, धरमपनियाका एक किसानले घरायसी प्रयोजनका लागि ल्याउँदै गरेको २५ केजी धानको बिउ पनि मेन गेटमै रोकिएको र आफूलाई फर्काइएको गुनासो गरेका छन् । ती किसानका अनुसार, पछि सशस्त्र प्रहरी क्याम्पमा पुगेर सोधपुछ गर्दा “हामीले कुनै धानको बिउ नियन्त्रणमा लिएका छैनौं” भन्ने जवाफ पाएका थिए, जसले घटनाप्रति थप अन्योल सिर्जना गरेको छ ।
भन्सार प्रक्रियाका लागि सामान भौतिक रूपमा उपस्थित हुनुपर्ने सामान्य व्यवस्था रहे पनि, स्थानीयले नियन्त्रणमा लिइएका सामान भन्सार कार्यालयसम्म नपुगेको र प्रक्रिया कसरी अघि बढाइँदै छ भन्नेबारे अन्योल रहेको बताएका छन् ।


