कपिलवस्तुमा ६३.६३ प्रतिशत मतदान, आजैदेखि मतगणना सुरु हुने

  • २१ फाल्गुन २०८२, बिहीबार २१:०३ मा प्रकाशित
  • कपिलवस्तु, फागुन २१

    कपिलवस्तु जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको छ । जिल्लाभरका सबै मतदान केन्द्रमा कुनै अप्रिय घटना बिना मतदान सम्पन्न भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार जिल्लामा कुल ३ लाख ९६ हजार २६५ मतदाता रहेकोमा २ लाख ५२ हजार १५६ मत खसेको छ, जुन ६३.६३ प्रतिशत हो । खसेको मतमध्ये महिला १ लाख ३० हजार ४६३, पुरुष १ लाख २१ हजार ६९० र अन्य ३ जना रहेका छन् । क्षेत्रगत विवरण अनुसार कपिलवस्तु क्षेत्र नम्बर १ मा कुल १ लाख ४७ हजार ६५९ मतदाता रहेकोमा ९२ हजार ४९४ मत (६२.६४ प्रतिशत) खसेको छ । त्यस्तै क्षेत्र नम्बर २ मा १ लाख ३० हजार २०२ मतदाता मध्ये ८५ हजार ५६ मत (६५.३३ प्रतिशत) खसेको छ भने क्षेत्र नम्बर ३ मा १ लाख १८ हजार ४०४ मतदाता मध्ये ७४ हजार ६०६ मत (६३.०१ प्रतिशत) मतदान भएको छ । प्रमुख जिल्ला अधिकारी गौतमका अनुसार मतदान सम्पन्न भएलगत्तै जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतले सर्वदलीय बैठक गरी आजै साँझदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ । जिल्लामा ३ हजार ९६४ अस्थायी मतदाता समेत रहेका छन् ।