
नेकपा एमालेका महासचिव शंकर पोखरेल आफूलाई अगाडि सारेर चर्चा गर्न रुचाउने नेतामध्ये पर्दैनन्। तर राजनीतिक हैसियत, नीति–निर्माणमा पहुँच र संगठनात्मक प्रभावका हिसाबले खुमबहादुर खड्कापछि दाङबाट उदाएका नेतामध्ये उहाँजस्तो उचाइ अरू कुनै दलमा देखिँदैन। दुर्भाग्य, यस्तो अन्तर्मुखी तर प्रभावशाली नेतृत्वलाई चिन्न र मूल्याङ्कन गर्न हाम्रो समाज सधैं ढिलो गर्दै आएको छ।
रु. १० बाँडेर हजारको गफ चुट्ने संस्कृतिमा रमाएको समाजले दीर्घकालीन सोच, संस्थागत विकास र मौन कर्ममा विश्वास गर्ने नेताको योगदान पहिल्याउन नसक्नु अस्वाभाविक होइन। सायद यही कारणले प्रदेश राजधानी दाङ ल्याउन निर्णायक भूमिका खेलेका शंकर पोखरेललाई दंगाली जनताले २०७९ को निर्वाचनमा पराजित गरिरहँदा उत्सव मनाए।
यो प्रवृत्ति त्यति अचम्मको पनि होइन, किनकि सिंहदरबारजस्तो राष्ट्रिय धरोहरमा आगो लगाएर सेल्फी खिच्ने सामाजिक चेतनास्तरले गुणवान नेतृत्व चिन्न नसक्नु स्वाभाविक नै ठहर्छ।
तर निर्वाचनमा पराजय भोगेपछि पनि दाङको विकासप्रति शंकर पोखरेलको प्रतिबद्धता कमजोर भएन। घोराही–तुल्सीपुर फोरलेन सडकको वर्षौँदेखि अल्झिएको कामले गति लिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत ४०० शय्याको भवन निर्माण भइरहेको छ। इन्जिनियरिङ कलेजको संरचनागत काम अघि बढ्दैछ। साथै, टरिगाउँ विमानस्थल विस्तार र सञ्चालनका विषयमा पनि आगामी दिनमा पहल गर्ने प्रतिबद्धता उहाँले सार्वजनिक गर्दै आउनुभएको छ।
नेकपा एमाले अध्यक्ष केपी ओली पश्चात पार्टीको भावी अध्यक्ष र भविष्यको प्रधानमन्त्रीको रुपमा चर्चा पाएका शंकर पोखरेलले व्यक्त गरेको एउटा भनाइ विशेष अर्थपूर्ण छ—
अब आउँदो चुनावमा दंगाली जनताले ज्ञापनपत्र बुझाउन जाने उम्मेदवार होइन, बुझ्ने हैसियत राख्ने उम्मेदवारलाई जिताउनुपर्छ।
यो भनाइ केवल राजनीतिक कटाक्ष होइन, बरु नेतृत्वको मापदण्ड पुनःपरिभाषित गर्ने आह्वान हो।
सार्वजनिक सम्पत्ति र ऐतिहासिक धरोहरमाथि आगजनी गर्ने, व्यक्ति विशेषका घर–व्यवसाय ध्वस्त पार्ने, सामाजिक संरचना खलबल्याउने प्रवृत्तिलाई हतोत्साहित गर्न र कानुनी दायरामा ल्याउनुपर्ने आवश्यकता आज झनै टड्कारो बनेको छ। यसका लागि जिम्मेवार राजनीति र संस्थागत दलहरूको भूमिका अपरिहार्य छ—र यही सन्देशका साथ शंकर पोखरेलले नेकपा एमालेसहित आफूलाई समर्थन गर्न आग्रह गरेका छन्।
अन्ततः प्रश्न नेतृत्वको हार–जितभन्दा ठूलो छ। प्रश्न हो—हामी कस्तो नेतृत्व चाहन्छौँ? चर्को भाषण गर्ने, भीड तताउने नेतृत्व कि मौन तर परिणाम दिने नेतृत्व?
दाङको विकासक्रमलाई हेर्दा, यो प्रश्नप्रति पुनर्विचार गर्ने समय आएको छ।

