कपिलवस्तु ,माघ २३
जनता समाजवादी पार्टी नेपालले कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ मा आगामी २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बब्बु सिन्ह यादवलाई उम्मेदवार बनाएको छ । पार्टीको यस निर्णयलाई यस क्षेत्रमा रणनीतिक र समयसापेक्ष कदमका रूपमा हेरिएको छ ।
यस क्षेत्रमा यादवको मत निर्णायक मानिँदै आएको छ । विगतका निर्वाचन तथा सामाजिक गतिविधिले समेत यादवको जनआधार मजबुत रहेको संकेत गर्छ । जनता समाजवादी पार्टीले कपिलवस्तुका धेरै स्थानीय तहमा निरन्तर प्रतिनिधित्व गर्दै आएको र संगठनात्मक रूपमा जरा गाडेको पार्टी भएकाले यादवको उम्मेदवारीलाई थप बल पुगेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।
पछिल्लो समय भएका विभिन्न जनआन्दोलनहरूमा जनता समाजवादी पार्टीले जनताको हकहित, सामाजिक न्याय र अधिकारका पक्षमा अग्रपंक्तिमा रहेर आवाज उठाउँदै आएको छ । विशेषगरी जेएनजी आन्दोलनले उठाएका युवा रोजगारी, संघीयताको प्रभावकारी कार्यान्वयन र अधिकारको विकेन्द्रिकरणका मुद्दालाई पार्टीले प्राथमिकतामा राख्दै आएको छ ।
यही राजनीतिक पृष्ठभूमिमा पार्टीले युवालाई अघि सार्दै बब्बु सिन्ह यादवलाई उम्मेदवार बनाएको हो । यादवलाई स्थानीय समस्याको राम्रो बुझाइ भएको, जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने र आवाजलाई संसदसम्म पुर्याउन सक्ने सक्षम नेतृत्वका रूपमा हेरिएको छ ।
हाल उम्मेदवार यादव मतदाताको घरदैलोमा पुगेर आफ्ना एजेन्डा प्रस्तुत गर्दै आएका छन् । उनले विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र किसानको समस्यालाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै जनसमर्थन विस्तारमा सक्रिय छन् ।
स्थानीयस्तरमा बढ्दो जनसमर्थन र पार्टीको संगठनात्मक शक्तिका कारण कपिलवस्तु–१ मा बब्बु सिन्ह यादव बलिया उम्मेदवारका रूपमा उभिएका छन् ।


