कपिलवस्तु, पुष ७

फल्गुण २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्र निर्माण दल नेपालका केन्द्रीय सदस्य निसार अहमद मुसलमानले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्र निर्माण दल नेपालको चुनाव चिन्ह पानीको बोतल रहेको छ ।
उम्मेदवारी दर्तापछि आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै मुसलमानले जनताको सुरक्षित र उज्ज्वल भविष्य, गाउँ–टोलदेखि देशसम्मको वास्तविक विकास तथा इमानदार र काम गरेर देखाउने नेतृत्वका लागि आफू चुनावी मैदानमा उत्रिएको बताए । उनले मतदातालाई पानीको बोतल चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे ।
मुसलमानको उम्मेदवारीसँगै कपिलवस्तु क्षेत्र नम्बर १ मा नयाँ आशा, विश्वास र परिवर्तनको ऊर्जा फैलिएको सहभागीहरूको भनाइ छ। मनोनयन दर्ताका क्रममा उल्लेख्य संख्यामा समर्थक र शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।
निसार अहमद मुसलमानले आफू ठूला भाषणभन्दा काममा विश्वास गर्ने नेता भएको उल्लेख गर्दै जनताको दुःख–सुख बुझ्ने, युवाका सपना सुन्ने तथा किसान, मजदुर र पछाडि पारिएका वर्गको पीडालाई केन्द्रमा राखेर राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले आफ्नो राजनीतिक यात्राको मूल एजेन्डामा जनताको हक–अधिकार, सामाजिक न्याय, समावेशी लोकतन्त्र तथा सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखिएको बताए । जनताको साथ, भरोसा र समर्थनलाई सबैभन्दा ठूलो शक्ति मानेर चुनावी अभियानलाई अझ सशक्त बनाउने उनको भनाइ छ ।

