माघे संक्रान्तिमा विश्वप्रसिद्ध गढीमाई मेलामा भक्तजनको ऐतिहासिक भीड

  • २ माघ २०८२, बिहीबार २०:०३ मा प्रकाशित
  • उमेश कुशवाहा, बीरगंज

    विश्वप्रसिद्ध गढीमाई मेला माघे संक्रान्तिको अवसरमा माघ १ गते (खिचडी पर्व) का दिन बाराको बरियारपुरमा अवस्थित गढीमाई भगवती मन्दिर परिसरमा भव्य रूपले लागेको छ। धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने यस मेलामा देश–विदेशबाट लाखौँ श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता देखिएको छ।

    प्रत्येक वर्षझैँ यस वर्ष पनि माघे संक्रान्तिको अवसरमा नेपालका विभिन्न जिल्लासहित भारतका विभिन्न स्थानबाट भक्तजनहरू गढीमाई भगवतीको दर्शनका लागि बरियारपुर पुगेका छन्। बिहानैदेखि मन्दिर परिसर तथा आसपासका क्षेत्र भक्तजनको ठूलो भीडले भरिएका छन्।

    गढीमाई भगवती शक्तिकी देवीका रूपमा पूजाआजा गरिँदै आएको छ। माघे संक्रान्तिको दिन विशेष गरी खिचडी चढाउने, भाकल पूरा गर्ने तथा परिवारको सुख, शान्ति र समृद्धिको कामनासहित पूजा गर्ने परम्परा रहिआएको छ।

    मेलालाई व्यवस्थित बनाउन सुरक्षाकर्मी, स्वयंसेवक तथा स्थानीय प्रशासन परिचालन गरिएको छ। भीड व्यवस्थापन, यातायात र सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिइएको छ। मेला भव्य रूपले लागेसँगै स्थानीय व्यापार, होटल व्यवसाय तथा पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव परेको छ।

    धार्मिक आस्थासँगै सांस्कृतिक पहिचान बोकेको गढीमाई मेला नेपालकै एक महत्वपूर्ण धार्मिक उत्सवका रूपमा स्थापित हुँदै आएको छ।