
रोशन थीङ ,नुवाकोट।
नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित न्यू भिजन खेल मैदान, जरुवामा प्रथम चिम्टेश्वर T–20 अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता बेलकोटगढी क्रिकेट समितिको आयोजनामा तथा आरम्भ आर्ट बट्टारको सहकार्यमा सञ्चालन हुन लागेको हो।
बेलकोटगढी क्रिकेट समितिका संयोजक रबिन दाहालका अनुसार युवामा खेलकुदप्रतिको उत्साह बढाउने, खेल प्रतिभाको पहिचान गर्ने र अन्तरपालिका सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
माघ २ गतेदेखि सुरु भई माघ ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नुवाकोट र धादिङ जिल्लाका चार पालिकाका टिमहरूको सहभागिता रहनेछ। प्रतियोगितामा सहभागी हुने टिमहरू यस प्रकार रहेका छन्:
- बेलकोटगढी नगरपालिका (नुवाकोट)
- विदुर नगरपालिका (नुवाकोट)
- गल्छी गाउँपालिका (धादिङ)
- थाक्रे गाउँपालिका (धादिङ)
माघ २ गते उद्घाटन खेलहरू अन्तर्गत बिहान ८ बजे विदुर नगरपालिका र गल्छी गाउँपालिकाबीच पहिलो खेल हुनेछ भने बिहान ११ बजे बेलकोटगढी नगरपालिका र थाक्रे गाउँपालिकाबीच दोस्रो खेल सञ्चालन हुनेछ।
नकआउट प्रणालीमा आधारित प्रतियोगितामा उद्घाटन खेलका विजेता दुई टिमहरू माघ ३ गते बिहान १० बजे हुने फाइनल खेलमा उपाधिका लागि आमनेसामने हुनेछन्।

