शिवबलवामा प्रहरीले अबैध मल र गहुँको ब्यू बरामद

  • २१ कार्तिक २०८२, बिहीबार १७:५२ मा प्रकाशित
  • कपिलवस्तु —
    शुद्धोधन गाउँपालिका–५, शिवबलवास्थित भन्सार कार्यालयको पछाडिपट्टि रहेको एक घरमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा अबैध सामान बरामद गरेको छ ।

    ईलाका प्रहरी कार्यालय पकडीको टोलीले २० केजीका ३३ बल्टिन जैविक मिस्कड कम्पोजिट मल र ४० केजीका २७ बोरा गहुँको ब्यू नियन्त्रणमा लिएको हो ।

    प्रहरी निरीक्षक सुभाष खतीवडाको नेतृत्वमा गएको टोलीले स्थानीयबाट प्राप्त गोप्य सूचनाका आधारमा उक्त घरमा छापा मारेको थियो ।

    स्थानीयवासीका अनुसार सीमा प्रहरी चौकीका सुरक्षाकर्मी र सशस्त्र प्रहरी बल शिवबलवाको मिलेमतोमा यस्ता सामानहरू लामो समयदेखि भण्डारण हुँदै आएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै निकाय २४ सै घण्टा सिमामा तैनाथ रहँदा पनि यति ठूलो मात्रामा सामान भित्रिनु प्रश्न उठाउने खालको भएको स्थानीयले बताएका छन् ।

    प्रहरी चौकीदेखि करिब ३०० मिटर टाढा यति धेरै मात्रामा मल र ब्यू भण्डारण हुनु आफैंमा शंकास्पद विषय हो, एक स्थानीयले भने ।

    बरामद गरिएको सामान अहिले सुठौली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । यद्यपि, उक्त सामान कसको स्वामित्वमा रहेको हो भन्नेबारे अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।