सिर्सिया नदी प्रदूषित: चोर्नीस्थित उद्योगका प्रबन्धकमाथि मोबिल छ्यापी विरोध

  • ८ कार्तिक २०८२, शुक्रबार २१:१३ मा प्रकाशित

  • वीरगञ्ज । छठ पर्व नजिकिँदै गर्दा सिर्सिया नदी प्रदूषित भएको भन्दै वीरगञ्ज–३२ चोर्नीस्थित नेपाल पेट्रो ल्युब इन्डस्ट्रिज प्रालिका प्रबन्धकमाथि स्थानीयले मोबिल छ्यापी विरोध प्रदर्शन गरेका छन् ।

    स्थानीयका अनुसार ‘म्याक्सोल ल्युब्रिकेन्ट’ उत्पादनका क्रममा प्रयोग भएका रासायनिक फोहोर पदार्थ नदीमा मिसाउँदा पानी दुर्गन्धित बनेको छ ।

    लामो समयदेखि विरोध गर्दै आएका स्थानीयहरूले माग पूरा नभएपछि शुक्रबार कम्पनी परिसरमै प्रवेश गरी आक्रोश पोखेका थिए ।

    घटनापछि प्रहरी पुगेको र स्थिति नियन्त्रणमा लिइएको छ । स्थानीयहरूले प्रदूषण रोक्न र कम्पनीमाथि कारबाही गर्न माग गरेका छन् ।