
उमेश कुशवाहा वीरगञ्ज । लगातारको वर्षापछि सिर्सिया र तिलावे नदीमा पानीको बहाव तीव्र बन्दा वीरगञ्ज महानगरपालिकाका विभिन्न बस्तीहरू डुबानमा परेका छन् । वडा नम्बर ९, १०, ११, १३, १४,२३ र २४ का टोलहरूमा बाढीको पानी पसेर जनजीवन प्रभावित भएको छ ।

सिर्सिया नदी ओभरफ्लो भएर बस्तीमा पसेको र तिलावे नदीको उर्लिँदो भेलले खेतबारी र आसपासका क्षेत्रहरू डुबानमा परेको स्थानीय प्रशासनले जनाएको छ ।

महानगरको टोलीले डुबानग्रस्त क्षेत्रको स्थलगत अनुगमन गर्दै उद्धार र राहत कार्य तीव्र पारेको छ । विस्थापित परिवारहरूका लागि खानेपानी, आश्रय र राहत सामग्रीको व्यवस्था गर्न स्थानीय टोलीहरू परिचालित छन् ।

महानगरले सिर्सिया र तिलावे नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।






