वीरगञ्ज–मुर्लीको छठ घाट दुलहिनझैं सिँगारियो, चारैतिर भक्तिभाव र रौनक

  • १० कार्तिक २०८२, आईतवार ०७:१९ मा प्रकाशित
  • उमेश कुशवाहा, वीरगञ्ज ।
    लोक आस्थाको महान पर्व छठ पूजाको स्वागतमा वीरगञ्ज–मुर्ली क्षेत्र उज्यालो र रंगीन बनाइएको छ। छठी माताको आराधनाको तयारी अन्तिम चरणमा पुगेको छ भने छठ घाटहरू दुलहिनझैं सिँगारिँदै श्रद्धालुहरूको भीड लाग्न थालेको छ।

    मुर्ली क्षेत्रका मुख्य छठ घाटहरूमा तोरण, रंगोली, बत्ती र फूलमालाले सजावट गरिएको छ। सूर्य अस्ताउँदा र उदाउँदा जल अर्घ्य दिने श्रद्धालुहरूका लागि सुरक्षित र स्वच्छ घाटको व्यवस्था मिलाइएको छ। छठ ब्यवस्थापन समिति, स्थानीय समाजसेवी बिरगंज मनपा. र स्वयंसेवकहरूको सक्रिय सहभागितामा घाट वरपर सरसफाइ, सुरक्षा र बत्तीको व्यवस्था गरिएको छ।

    मुर्ली बजारदेखि छठ घाटसम्मको सडकमा बत्तीको झिलिमिली र मन्दिरहरूमा गुञ्जिएको भजनले पुरै वातावरण धार्मिक र मनमोहक बनेको छ।

    हजारौं श्रद्धालुहरू आगामी दिनहरूमा छठी माईको पूजा अर्चना गर्न मुर्ली, आसपासका विभिन्न ठाउँबाट आउने अपेक्षा गरिएको छ।

    त्यस्तै घडीअर्वा, रानीघाट, राधेमाई, रामगढ़वा, सबैठवा, नगवा, छपकैया बिरगंजका सम्पूर्ण छठघाटपनि दुलहिन झै सिंगरिएको छ।


    चार दिनसम्म चल्ने यो पर्वमा नहाय–खायदेखि उदयमान सूर्यलाई अर्घ्य दिने परम्परा पालन गरिँदै सुख, शान्ति र समृद्धिको कामना गरिन्छ।