
काठमाडौं । सामाजिक सञ्जाल फेसबुक सञ्चालक संस्था मेटाले नेपालमा कम्पनी दर्ता प्रक्रियालाई औपचारिकता दिन आवश्यक कागजातहरूको सूची माग गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार, मेटाका प्रतिनिधिले मंगलबार साँझ मन्त्रालयका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेलमार्फत आवश्यक कागजातबारे जानकारी मागेका हुन्।
“पौने पाँच बजेतिर मेटाका प्रतिनिधिबाट मन्त्रीज्यूका विज्ञ सल्लाहकारलाई इमेल आएको रहेछ। त्यसलगत्तै हामीले पाँच मिनेटभित्रै कम्पनी दर्ताका लागि आवश्यक कागजातहरूको विवरण पठाइसकेका छौं,” प्रवक्ता ठाकुरले जानकारी दिए।
नेपाल सरकारले सूचीकृत नभएका सामाजिक सञ्जालहरूलाई चरणबद्ध रूपमा प्रतिबन्ध गर्ने निर्णय गरेको छ। सो निर्णयसँगै नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक कम्पनीहरूलाई २६ वटा सामाजिक सञ्जाल संचालन रोक्न पत्राचार गरिसकेको छ।
सामाजिक सञ्जाल नियमनसम्बन्धी सरकारी निर्णय कार्यान्वयनमा अघि बढेसँगै देशभर यसको प्रभावबारे चर्को बहस सुरु भएको छ। एकातर्फ सरकारले विधिसम्मत ढंगले सञ्चालनमा ल्याउने तयारीलाई महत्त्वपूर्ण कदमका रूपमा व्याख्या गरिएको छ भने अर्कोतर्फ सामाजिक सञ्जालमा यसको प्रभावबारे विभिन्न प्रतिक्रिया सार्वजनिक भइरहेका छन्। स्रोत : अनलाइन खबर