
भदौ -१९ बिरगंज, उमेश कुशवाहा —
सङ्घीय खानेपानी मन्त्री प्रदीप यादव र बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह लाई फोनमार्फत धम्की दिएको अभियोगमा पक्राउ परेकी किरण साहलाई पर्सा अदालतले धरौटीमा रिहा गरेको छ।
धरौटीमा रिहा गर्न जिल्ला अदालतका न्यायाधीश कमलकान्त जोशीको इजलासले आदेश दिएको डिएसपी प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिए ।अदालतले बिहीबार ५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
साहमाथि तीनवटा मुद्दा दर्ता भएका थिए— ज्यान मार्ने धम्की, साइबर अपराध, र अफवाह फैलाउने।
यो विवादको सुरुवात मन्त्री यादव र किरण साहबीचको टेलिफोन संवादबाट भएको हो। साहले मन्त्रीलाई फोन गरेर बिरगंजमा फैलिएको हैजाबारे गुनासो गर्दै मन्त्रीलाई त्यसको जिम्मेवार ठहराएकी थिइन्। अडियोमा उनले मन्त्रीप्रति धम्कीपूर्ण भाषा प्रयोग गरेकी सुनिन्छ।