पार्टी र कार्यकर्ताको विश्वासको जगमा प्रधानमन्त्रीको नेतृत्व प्राप्त हुन्छ : शंकर पोखरेल

  • ४ भाद्र २०८२, बुधबार १७:५२ मा प्रकाशित
  • नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी र कार्यकर्ताको विश्वासको जगमा प्रधानमन्त्रीको नेतृत्व प्राप्त हुने कुरा बुझ्न जरूरी रहेको बताएका छन्।

    बुधबार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभामा बोल्दै उनले नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवालाई कति पटक प्रधानमन्त्री भएको भनेर प्रश्न सोधिने गरेको भन्दै यो उदेकलाग्दो रहेको जिकीर गरे।

    लोकतन्त्रमा पार्टी र कार्यकर्ताको विश्वासको जगमा नै प्रधानमन्त्रीको नेतृत्व गर्न पाइने कुरा बुझ्न जरूरी रहेको उनले बताए।

    ‘कहिलेकाहीँ नेपाली कांग्रेसभित्रै बहस चलेको सुन्दछु म। उदेकलाग्दो छ। नेपाली कांग्रेसकै एक जना महामन्त्रीले भनेको सुनेँ। शेरबहादुर दाइ कति पटक प्रधानमन्त्री हुने? अब अरू मलाई दिनुपर्दछ। यो प्रधानमन्त्री भन्ने कुरा पालोको कुरा हो र? विश्वासको कुरा हो। पार्टीको विश्वास र कार्यकर्ताको विश्वासको जगमा प्रधानमन्त्रीको नेतृत्व प्राप्त हुन्छ। यति कुरा त लोकतन्त्रमा बुझ्नुपर्‍यो यो नि,’ उनले भने।

    कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सभापति देउवा अब प्रधानमन्त्री बन्न नहुने कुरा पार्टी केन्द्रीय समिति बैठकमै भनेका थिए। त्यसप्रति लक्ष्य गर्दै महासचिव पोखरेलले उक्त कुरा बताएका हुन्।