जापानीज इन्सेफलाइटिसको जोखिम बढेपछि वीरगंजमा पशुपन्छी फार्महरूको अनुगमन र जनचेतनामूलक अभियान

  • १३ भाद्र २०८२, शुक्रबार १८:०६ मा प्रकाशित
  • जापानीज इन्सेफलाइटिसको जोखिम बढेपछि वीरगंजमा पशुपन्छी फार्महरूको अनुगमन र जनचेतनामूलक अभियान

    उमेश कुशवाहा
    भादौ १३, वीरगंज

    वीरगंज महानगरपालिकाले हाल देशभरि देखा परिरहेको जापानीज इन्सेफलाइटिस (JE) संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै वडा नं. १९ बारवा र वडा नं. २२ मनियारीका पशुपन्छी फार्महरूमा विशेष अनुगमन तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।

    कार्यक्रम अन्तर्गत सुँगुर तथा बंगुरपालनमा संलग्न किसानहरू र आसपासका दलित बस्तीका परिवारहरूलाई रोगको सम्भावित संक्रमण, त्यसको लक्षण, फैलिने तरिका तथा रोकथामका उपायहरूबारे जानकारी दिइएको थियो। सहभागीहरूलाई फार्म सरसफाइ, लामखुट्टे नियन्त्रण, जैविक सुरक्षा (Biosecurity) अपनाउने तरिका र खोपको महत्वबारे पनि विस्तृतरूपमा सचेत गराइएको थियो।

    महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखा, वन वातावरण शाखा र महानगर प्रहरी बलको संयुक्त टोलीले उक्त अभियान सञ्चालन गरेको हो। टोलीले स्थानीय किसानलाई रोगको जोखिम न्यूनीकरणका लागि फार्ममा नियमित सरसफाइ, जैविक सुरक्षाको पालना र अनिवार्य खोप कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।