जिप पल्टिँदा दम्पत्तीसहित ३ जनाको मृत्यु

  • २९ मंसिर २०८१, शनिबार १०:०० मा प्रकाशित
  • बुटवलको तिनाउ पुलमा बलेरो जिप अनियन्त्रित भइ पल्टिँदा दम्पत्तीसहित ३ जनाको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपाने रहेका छन् । 

    गौरी खनाललाई दमको उपचारका लागि नयाँ गाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल ल्याउने क्रममा जिप अनियन्त्रित भइ पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । 

    पुल क्रस गरिसकेपछिको मोडमा जिप दुर्घटनामा परेको उनले बताए । उक्त जिप अर्घाखाँची क्याटरिङको रहेको बताइएको छ । शव पोष्टमार्टमा लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।