
साप्ताहिक झिल्का लेखन अभ्यासको ३८ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६४ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३८ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
…
१,
दसैँ आयो आँगनमा
मनाऔॅं आफ्नै पाराले
उत्सव बनाएर आफ्नोपनमा ।
२,
ऋण नबोकाउने गरेर
धार्मिक सहिष्णुतामा दसैँ
बोलाऔॅं पाहुना सम्झेर ।
३,
दसैँले सद्भाव बढाउॅंछ
देखासिकीमा नरमाऔॅं कदापि
सम्बन्धलाई नवीकरण गराउॅंछ ।
- म्यामराज राई
…
१,
सिको नगरी खास
निल्न सकिन्छ जति
उत्रै हालौँ गास ।
२,
कसैले अप्रिय नभनोस्
नभुलौँ आफ्नो औकात
दसैँ दशा नबनोस् !
३,
जथाभावी खर्च हानेर
ठोक्नु नपरोस् टाउको
दसैँ एकदिन मानेर ! - वसन्त अनुभव, घोराही, दाङ
…
१,
दसैँ खुसीले मानौँ
कदापि देखासिकी नगरी
आफ्नो हैसियत जानौँ ।
२,
दसैँको महत्त्व बुझेर
विकृति हटाउन लागौँ
खुला मैदानमा उठेर ।
३,
फजुल खर्च नगरोस्
मानौँ चाडपर्व उमङ्ले
दसैँ दशा नबनोस्। - भोज प्रसाद मगर, गैंडाकोट -३, पुर्वी नवलपरासी
…
१,
दसैँ आयो हाँसेर
रमाऔॅं खुसीले सदैव
सबैमा माया गाँसेर ।
२,
संस्कार संस्कृति धान्नु
मान्यजनको आशीर्वाद थापेर
ठुलोले भनेको मान्नु ।
३,
निधारमा टीका थापेर
सदैव मान्ने जनको
टाउकोमा जमरा राखेर । - बेदु न्यौपाने
…
१,
हैन देखासिकी गरेर
औकातले भ्याउने मात्रै
गरौँ हाँसीखुसी भरेर।
२,
संस्कार, संस्कृति मानेर
मान्यजनको हातबाट टीका
लगाई आसिक लिएर।
३,
गरौँ यसको सामना
सबैमा आउने बडादसैँको
हार्दिक मङ्गलमय शुभकामना। - अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१
हालः-क्यानडा,क्यालगरी।
…
१,
के बोकेर आयो?
यसपालि दसैँ पर्व
त्यसै सन्नाटा छायो । - ताराप्रसाद चापागाईँ, धुनिबेसी
…
१,
दसैँ आयो हेर ,
आफ्नो गोजी हेर्नू,
नक्कल नगर्नु धेर ।
२,
अर्काको शरीर खाएर,
आनन्द नलिनु भन्छु
बोतल सबै रित्याएर ।
३,
दसैँ खास बनोस् ,
सबैलाई दसैँको शुभकामना
पानी छिट्टै रोकियोस् । - दीपा समभाव, दुबेकोल खोटाङ्ग
…
१,
ऋण बोकाउन आयो
चपेटामा परेको बेला
दसैँले दशा देखायो ।
२,
केही छैन घरमा
मेरो दसैँ जान्छ
ढिँडो फर्सीको भरमा
३,
दसैँ होइन दसा
गरीबलाई सधैँ गरिबको
लाग्दैछ अब नसा। - ललिता गिरी, सिन्धुली
…
१,
पुजौँ चन्द्रघण्टा माता
मनमा श्रद्धा हाम्रो
आजन्म सनातनी नाता ।
२,
हामी चिन्तन गरौँ
फूल चढाएर मनले
माताको शरण परौँ ।
३,
कर्मको मातासँग खाता
माता हाम्री ममत्व
सुखरूपी छाया छाता । - कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
…
१,
गर्दछौँ विपत्तिको सामना
कसरी दिऊॅं विपतमा
बडादसैँको तिमीलाई शुभकामना । - चिरञ्जीवी श्रेष्ठ, धनकुटा ।
…
१,
चाडपर्व दसैँ हाम्रो
फजुल खर्च नगरी
दसैँ मनाऔॅं राम्रो ।
२,
रातो टीका लगाऔॅं
अछेता प्रयोग नगरी
दसैँ हामी मनाऔॅं ।
३,
दसैँ बनोस् खास
दसैँको सबैलाई शुभकामना
नहोस् कसैको उठिबास । - राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर
…
१,
मुस्कुरायो विपतमा पनि
लेखेर राख त्यही
हुन्छ संसारको धनी। - सुरेशकुमार पाण्डे, दाङ घोराही १८
…
१,
विजयादशमीको पावन अवसरमा
दुर्गाभवानीले बास गरून्
सबै मानिसको घरघरमा ।
२,
रङ्ग र रसैमा
नराम्रो सुन्न नपरोस्
यो साल दसैँमा ।
३,
दसैँ जस्तो चाडमा
नभुलौँ कोही पनि
रक्सी अनि जाँडमा । - हिरामाया श्रेष्ठ, गजुरी १ धादिङ
…
१,
जमरा राखेर घरमा
दसैँ मनाऔॅं हाँसेर
नपरौँ कसैको करमा।
२,
ठुलाको आसिक लिऊँ
आमाबाको सम्मान गरौँ
सानालाई माया दिऊॅं । - सविता भट्टराई, जनकपुरधाम
…
१,
नगर शरीरको नाश
छन् उस्तै मान्छे
नगरौँ नयाँ आस।
२,
चोरले चोरी गर्छ
पूजा गर्छ मन्दिरमा
अनि काममा सर्छ।
३,
दसैँको छ शुभकामना
हर्षोल्लासमा मनाउनु चाड
नहोस् दु:खसँग सामना! - नवराज भट्ट, कञ्चनपुर
…
१,
विवेकले काम गरौँ
निभ्दैछ स्वाभिमानको दियो
सबैमा सद्भाव भरौँ ।
२,
विकृतिको अन्त्य गरौँ
मनाऔॅं चाडपर्व रमेर
समाज सुसंस्कारले भरौँ । - ऋजु दिल्पाली (राजेन्द्र घिमिरे), ईटहरी १ सुनसरी
…
१,
खुसी बोकेर आयो
गाउँ शहर सबैतिर
दसैँको रौनक छायो ।
२,
दसैँ नेपालीको पर्व
जोगाउदै संस्कार संस्कृती
सबैले गरौँ गर्व । - अनिता भण्डारी, ताप्लेजुङ
…
१,
जीवन बनोस् खास
एकपटकको यो जुनीमा
आनन्द रहोस् बास।
२,
आनन्दको पल आयो
रमाइलो गरौँ सबैले
दसैँको रमझम छायो।
३,
हरेक वर्ष आउँछ
परदेशीको मन दुखिरहन्छ
गाउँको सम्झना छाउँछ। - नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
…
१,
यसपालिको दसैँ सुनसान
दैवीप्रकोपले धेरै क्षति
कसको गर्नु गुनगान ?
२,
झण्डा नदेखाऊ हातमा
राहत झोलामा देखाएर
ब्रह्मलुटको रणनिती रातमा। - चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ
…
१,
कहिले बिगार्यो पानीले
समयमा सोच नपुग्दासम्म
कहिले बिगार्यो जवानीले ! - आर्त अकुलीन
…
१,
चोट नलागोस् मनमा
दसैँ तिहारमा रमाइलो
हुन्थ्यो साँच्चै बालापनमा।
२,
परिस्थितिले नगरोस् बदमास
दसैँको शुभकामना सबैमा
गरौँ रमाउने प्रयास। - अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ
…
१,
रमाइलो गरौँ दसैँमा
साथीभाइ भेटघाट गरौँ
नक्कल नगरौँ रसैमा ।
२,
सामाजिक सद्धवान गरौँ
हिन्दु बौद्ध किरातलाई
विभेद दिमागमा नभरौँ ।
३,
हत्या हिंसा नगरीकन
चाडपर्व मनाऔॅं सबैले
शान्ति मिल्दैन मरीकन। - एवाइ प्रभात, सहिदभुमि ३ धनकुटा
…
१,
सद्भावको एउटै भावना
देश प्रदेशमा सबैलाई
बडादसैँ पर्वको शुभकामना ।
२,
बेमौसमी झरी भएर
चाडपर्वको तामझाम मिलाउँदै
सबै प्रताडना सहेर ।
३,
चाडपर्वको नौलो उमङ्ग
बालबालिका खुसी देखिन्छ
हातेमालोमा पर्दै दङ्ग । - मोती योन्जन सुब्बा, दार्जिलिङ
…
१,
जब चाडपर्व आउँछ
घरको यादले जहिलेसुकै
परदेशी युवालाई रुवाउँछ l
२,
दसैँ बनोस् खास
हरेक जनको घरघरमा
नवदुर्गाले गरून् बास l
३,
सबैले गरौँ गर्व
गच्छे अनुसारको खर्चद्वारा
मनाऔँ खुसीले चाडपर्व l - बाबुराम गौतम, गुल्मी
…
१,
नहोऊन् जनता वञ्चित
प्रतिभा हुन्छ सबमा
सधैँलाई राखौँ सञ्चित । - प्रेम थापा “मन”, बागलुङ
…
१,
आउनलाई त आयो
हिन्दुहरूको ठूलो पर्व
प्रकृतिले खुसियाली खायो ।
२,
घरबास उठाएर रुवायो
आँखामा आँसुको बाढी
प्रकृतिले प्राण उडायो ।
३,
रोदनले खुसीयाली हरायो
पीडैपीडाको भुमरी चल्नलाई
यसपालि हाप्सिलो करायो। - घनश्याम पन्त, हरिवन सर्लाही
…
१,
खुसी बोकी आउँछ
दसैँ सबैतिर हेर
आनन्दले मन रमाउँछ। - अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन न.पा. ६ संखुवासभा
…
१,
पुजेर शक्ति देवका
मानव हामी सबैले
त्यागेर भव भेदका ।
२,
बढप्पन सबैले त्यागेर
सामान्य जीवन उत्तम
भगवान् भक्तिमा लागेर ।
३,
सधैँभरि उच्चतम भावना
यो सालको बडादसैँको
सबैलाई छ शुभकामना । - रामप्रसाद पुरी, बादेल, खोटाङ
…
१,
मान्यजनको आशीर्वाद पाएर
हामी एकसाथ रमाउॅंछौ
बडादसैँमा हर्षोल्लास गाएर ।
२,
केवल खुसी छान्छौँ
भुलाएर भएको पीर
मिलिजुली चाडपर्व मान्छौँ ।
३,
चाडपर्व आएपछि खाली
परदेशीको दु:ख रोदन
फेरि सुन्नुपर्यो यसपालि । - पृथक प्रकृति ,झापा
…
१,
झिल्का लेख्न झरेँ
दसैँको शुभ अवसरमा
शुभकामना अर्पण गरेँ!
२,
सुहाउँदैन देखावटी हाँसो
कसरी खुसी हुनु
लगाएर गलामा पासो! - मन्दिरा सेढाई, मलेखु, धादिङ
…
१,
दसामा दसैँ आयो
बिचल्ली भेलबाढी पहिरोले
जनतामा ग्रहण छायो । - दिलिप राई ‘सगर’
…
१,
बोकेर मखमली हर्ष
आउ बडादसैँ आँगन
मेटाई सारा सङ्घर्ष ।
२,
घाँटी हेरेर मनाउनु
देखासिकी गरेर होइन
सद्भाव साट्ने बनाउनु ।
३,
मिलन हुन् छुट्टिएका
दसैँको निउॅं पारेर
जोडिउन् मन चुट्टिएका । - राज बहादुर बडुवाल, कनकासुन्दरी -५,जुम्ला
…
१,
दसैँ सबैको हराभरा
देखासिकी नगरी मनाऔॅं
लाग्ला है दशा । - जनक बिसी, दक्षिणभारत कोचिन
…
१,
चाडपर्व घरमा छायो
खुसी कतै दुःख
यसपालिको दसैँ आयो ।
२,
बडादसैँको समय आएर
गाउँघरमा छ रमाइलो
जताततै खुसी छाएर ।
३,
चाडपर्व हामीले मान्नुपर्छ
बडादसैँमा भएर खुसी
खर्च गर्न जान्नुपर्छ । - कृष्ण बजगाई, भक्तपुर
…
१,
देशको राष्ट्रिय पर्व
मनाऔॅं हर्ष, उल्लासले
सबैलाई लागोस् गर्व।
२,
आयो है चाडबाड
घाँटी हेरेर मात्र
निल्ने गरौँ हाड।
३,
उराठ लाग्नु हुँदैन
मिठो मुस्कान दिएर
बोले दुःखले छुँदैन। - शशीश्री आचार्य
…
१,
दुर्दशा कसैलाई नपरोस्
देख्ने आँखामा भविस्यको
टुसा मनमा पलाओस्। - सुनगाभा पोखरेल, हाल: नेपालगन्ज
…
१,
हृदयदेखि प्रफुल्ल हाँस्यो
उमङ्ग जोशको जाँगर
समाजामा नाता गाँस्यो ।
२,
दसैँ जताततै फिक्का
न गोजीमा नोट
गरिबको हातमा सिक्का ।
३,
समय खेर नफाल
बेलैमा गरेको सङ्घर्षले
वैमनस्य मनमा नपाल । - अम्बिका अधिकारी, झापा बिर्तामोड
…
१,
चाडपर्व दसैँ आयो
आदिशक्ति दुर्गा देवी
भवानीको चर्चा छायो ।
२,
परदेशी घर आए
टाढिएका सबै परिवरसँगै
आफन्तले मिल्न पाए।
३,
भुलाएर व्यथा पीर
पिङ खेल्दै रमाउँदै
मनलाइ राखे थिर ! - विवश पारदर्शी, झापा
…
१,
काव्य परिवर्तनको वाहक
कसैको आस्थामा बिनसित्ति
दुरुत्साही नगरौँ अनाहक ।
२,
कलम लेखकको हतियार
कोरियोस् श्रमजीवीको गाथा
नहोस् बेथितिको मतियार । - कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
…
१,
उठौँ अब जङ्गी
चाडपर्व आयो है
बढिरहेछ दिनदिनै महङ्गी । - दीप गोले तामाङ
…
१,
दुर्गा माताको शक्तिले
गरून् सबैको कल्याण
नवारात्रिमा पुज्छौँ भक्तिले।
२,
थाप्छौँ जमरा टीका
लिन्छौँ मान्यको आशीर्वाद ,
नबनोस् चाड फिका।
३,
सबैमा खुसी छाओस्
नेपालीका घर आँगनमा ,
चाडको माहोल आओस्। - सुस्मिता अधिकारी ,काठमाडौँ
…
१,
दसैँ आयो भन्छन्
सर्वत्र छ रमाइलो
केटाकेटी दक्षिणा गन्छन् ।
२,
वर्ष दिनको चाड
रमाइलो हुने भयो
दु:ख मान्न छाड ।
३,
मेरो सधैँ चाहना
सबैको भलो होस्
दसैँको यही शुभकामना । - राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ
…
१,
पशुपन्छीको हत्या गरी
दसैँ मनाउछौ मान्छेहरू
मनमा पापैपाप भरी।
२,
हिन्दुहरूको दसैँ पर्व।
मङ्गोलियन हूँ म
छैन खासै गर्व । - वेल थोकर तामाङ, बकैया – ८, बस्तिपुर, मकवानपुर
…
१,
खुसीको महोत्सव दसैँ
बाढीले बिचल्ली पारेर
सर्नु नपरोस् बसैँ !
२,
दसैँको शुभकामना जनमा
सुख शान्ति समृद्धिसँगै
खुसी छाओस् मनमा !
३,
खुसी सबको चाहना
दसैँ भव्य बनाऔॅं
यही छ शुभकामना । - अच्युत घिमिरे, सर्पाङ, भुटान
…
१,
हातको मुठी फुकाऔॅं
दुखमा परेकाको लागि
गुनको मूल्य चुकाऔॅं ।
२,
घरघरमा जमरा राखौँ
कसैलाई नपरोस् रुन
थारुका ढिक्री चाखौँ ।
३,
ठुलाबाट आशिर्वाद लिऔॅं
आपसमा सद्भाव राखेर
सानालाई आशिष् दिऔॅं । - धनमाया चौधरी कैलाली
…
१,
चाडपर्व यसै आयो
रुवाउनु रुवायो सबैलाई
सम्पत्ति परिवार खायो ।
२,
गरिबीको चपेटामा आयो
चाडपर्व यसरी धमाधम
बाढीले देश खायो । - दुर्गा आचार्य, मोरङ
…
१,
तिमी आफै जाऊ
लाग्नु छैन पछि
चाहिएन झुटो दाउ ।
२,
मलाई टोलाई नहेर
तिम्रो नजर बुझ्छु
मेरो हृदय चिरेर। - हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगाबजार
…
१,
आयो दसैँ आज
सहज साधारण मनाऔँ
नमानि कुनै लाज ।
२,
काढेर ऋण लगाउँदिन
जस्तो पाक्ला घरैमा
बाहिरको भोजले अघाउँदिन ।
३,
संसारै हुन्छ घर
आफ्नै बुतामा उठौँला
नपरौँ कसैमा भर । - पुष्पा राई, बादेल, खोटाङ
…
१,
महान् चाड आयो
रमेर मनाउँ पर्व
हर्ष उमङ्ग ल्यायो । - शोभा आचार्य गौतम, काठमाडौँ
…
१,
देवतालाई सधैँ भाखेर
गर्छौँ कार्यहरू हामी ,
मनमा आस्था राखेर ।
२,
नौ रङ्गको जमरा
पूजा गरौँ माताको
जीवन बन्छ हराभरा।
३,
कमेराले घर लिपेर
सिँगारी भित्ताहरू हामीले ,
दसैँको स्वागतमा हेर । - सीमा कार्की समर्पण
…
१,
बगाउॅंदा बाढीले सलल
चिच्चाएर गुहार माग्दा
हाँस्छ सरकार गलल। - लोक बहादुर छेत्री लामिछाने, मोदी गा पा २ देउपुर पर्वत
…
१,
तन्दुरुस्त होस् तन
दाहिना बनून् देवी
होस् स्वच्छ मन ।
२,
धनकी देवी छाउन
सबका घर घर
धन पैसा पाउन ।
३,
पवित्र मनको कुरा
पूरा गरून् माता
लक्ष्मीको आशिष् पूरा । - भिक्षु ईश्वर, सुदुरपश्चिम, रामारोशन गाउँपालिका अछाम
…
१,
सबैका घरघरमा आयो
महान् पर्व बडादसैँ
मनमा हर्षले छायो।
२,
राखौँ आपसमा सुभावना
यो बडादसैँमा स्वीकार्नुहोस्
यो भुँइमान्छेको शुभकामना।
३,
टीका हुन्छ निधारमा
कानमा जमारा पनि
छाउँछ सुखशान्ति परिवारमा। - सतीश पण्डित, भानु६ चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ)
…
१,
दसैँ आयो फेरि
तडकभडक छोडेर सबै
मनाउनु घाँटी हेरी ।
२,
विकृतिलाई हटाएर सबै
फिजाऔॅं सद्भाव हामीले
अबको यो दसैँ । - दुर्गा भट्टराई, मोरङ
…
१,
आयो दसैँ पर्व
आफूसँग जे छ
त्यसैमा गरौ गर्व । - देवकृष्ण काफ्ले
…
१,
कति मिठो संस्कार
शारदीय ऋतुले बोकेको
जमघटको स्वादिलो अचार ।
२,
प्रकृति अस्तित्वकी भोकी
सम्झना अतितको दसैँको
आयो वेदना बोकी । - ममिता पौडेल भण्डारी
…
१,
धुलो मैलो फालेर
दसैँ मनाउन तयारी
घरका भित्ता टालेर ।
२,
प्रदेशी दाजुभाइ फर्किए
दसैँ तिहार मनाउन
सपरिवारमा खुसी दिए । - बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
…
१,
आयो दसैँ चाड
महान् पर्व हाम्रो
नखानु रक्सी जाँड। - बिके मुखिया
…
१,
दसैँ नेपालीहरूको पर्व
नवदुर्गा भवानीको पूजा
गर्दा लाग्छ गर्व ।
२,
घर जानेको लर्को
नमनाउनु कसैले पनि
ओढेर ऋणको बर्को।
३,
चर्की आउँछ छाती
भोका नाङ्गा देख्दा
दसैँ नआएकै जाति । - रुना कर्माचार्य दाहाल, चितवन
…
१,
दसैँ घर आएको
झिल्काकार सर्जकहरु र
मान्यजनहरूको माया पाएको । - रबि पौडेल ,जैमिनी -७ बाग्लुङ
…
१,
बाढी पहिरोको आहत
खान बस्नका लागि
जुटाऔॅं मिलेर राहत ।
२,
दुखसुखको साथी बनौँ
अर्कालाई पीडा पर्दा
होस्तेमा हैंसे भनौँ ।
३,
हुन्न दुखमा आत्तिनु
सुख भयो भन्दैमा
कोही कहिल्यै नमात्तिनु । - जयनारायण नेपाल, इलाम ,(हाल सूर्य विनायक २, बालकोट ,भक्तपुर )
…
१,
नराम्रो कसैले नभनोस्
फजुल खर्चले दसैँ
कसैको दशा नबनोस् ।
२,
ऋणले सेकिन्छ ढाड
दु:ख पाइन्छ घाँटी
नहेरी निल्दा हाड ।
३,
बसेपछि जुवाको खालमा
उजाडिन्छ सुन्दर घर
डुबिन्छ ऋणको आहालमा । - शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ
…
१,
दसैँ यसपालि वर्षाको
जोखिम मोलेर नहिँडौँ
गरेर नक्कल अर्काको ।
२,
फजुल खर्चलाई घटाऔॅं
दुर्दशा हुन्छ आफैलाई
देखासिकी भाव हटाऔँ ।
३,
चाडपर्व हाम्रो पहिचान
वैज्ञानिक संस्कृति मानेर
जोगाउनु पर्छ स्वाभिमान । - पद्मा काश्यप पाण्डे, मोरङ
…
१,
बाढी र पहिरो
जताततै गाएको देखेर
मनमा चोट गहिरो ।
२,
साह्रै विक्षिप्त भइयो
सबैको दुःख देखेर
झन् पीडा थपियो । - लक्ष्मण देउवा, डोटी
::::::::जय झिल्का साहित्य ! :::::::::


Nice blog here Also your site loads up very fast What host are you using Can I get your affiliate link to your host I wish my site loaded up as quickly as yours lol
Sky Scarlet This was beautiful Admin. Thank you for your reflections.
Fran Candelera I like the efforts you have put in this, regards for all the great content.
Blue Techker I like the efforts you have put in this, regards for all the great content.