बैदेशिक रोजगारीले भत्काएको त्यो घर।

  • २६ आश्विन २०७९, बुधबार १३:३८ मा प्रकाशित

  • दुई छोराहरूलाई झुन्ड्याएपछि हेमले आत्महत्या गरेको अनुमान गाउँलेको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    शनिबार बिहान घाँस काटेर फर्किंदा मीनबहादुर रानाले जे देखे, त्यसले उनलाई धेरैबेर होस हराएजस्तो अवस्थामा पुर्‍याइदियो । घर छेउको काप्रोको रूखमा तीन जना झुन्डिएको अवस्थामा थिए । उनीहरू भतिजा नाता पर्ने हेमबहादुर राना, उनका ७ वर्षीय जुम्ल्याहा छोरा शिशिर र वसन्त थिए । मीनले घाँसको भारी मिल्काए, चिच्याएर छरछिमेकी बोलाए । एकैछिनमा गाउँमा होहल्ला भयो । 

    भीमसेन थापा गाउँपालिका–६ अश्राङ मोहरियाका ३४ वर्षीय हेमबहादुर केही समयदेखि वैदेशिक रोजगारीमा थिए । भारतमा रहेका उनी गत असारमा मात्रै गाउँ फर्किए । घरमा आमा, श्रीमती, जुम्ल्याहा छोराहरू थिए । स्थानीयका अनुसार हेमबहादुर भारतबाट फर्किएपछि नै परिवारमा कलह सुरु भएको थियो । श्रीमती ४ महिनाकी गर्भवती थिइन् ।

    आफू घरबाहिर रहँदा कसरी–कसको गर्भ रह्यो भन्नेमा चर्काचर्की भयो । भारतबाट कामको खोजीमा आएका मोतीहारीका एक मिस्त्रीसँगको सम्बन्ध खुलेपछि राना दम्पती सँगै बस्ने अवस्था रहेन । गत भदौको अन्तिम साता उनीहरूले गोरखा जिल्ला अदालतमा पुगेर सम्बन्धविच्छेद गरे । उनकी पत्नीले घर छाडिन् ।

    त्यसपछि जुम्ल्याहा नातिहरूको हेरचाह हेमबहादुरकी वृद्धा आमाले गर्दै आएकी थिइन् । उनीहरू स्थानीय जनशक्ति आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्थे । हेमबहादुर धेरै बोल्दैनथे । लामो समय वैदेशिक रोजगारीमा रहेकाले घर बसेर गर्ने पेसा पहिल्याइसकेका थिएनन् । साथीभाइ भेट हुँदा उनी खुलेर कुरा गर्दैनथे, पत्नी र घरका प्रसंगमा कुरा चल्दा मौन रहन्थे । उनले गुनासो गरेको छिमेकीले सुनेका थिएनन् ।

    ‘अम्बा टिप्ने भन्दै छोराहरूलाई फकाइफुल्याई लिएर गएका रहेछन्,’ स्थानीय आशिष थापामगरले भने, ‘बिहान १० बजेतिर यस्तो देख्नुपर्‍यो ।’ घर आएर भारत जानुभन्दा अघि पनि हेमबहादुर वैदेशिक रोजगारीमै थिए । उनी ६ वर्ष साउदी अरब बसेका थिए ।

    दुई छोराहरूलाई झुन्ड्याएपछि हेमले आत्महत्या गरेको अनुमान गाउँलेको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोरखाका डीएसपी लीलाराज लामिछानेले घटनाबारे पोस्टमार्टम रिपोर्टपछि केही तथ्य खुल्न सक्ने बताए । उनका अनुसार प्रारम्भिक अनुसन्धानले भने घटना आत्महत्या नै भएको संकेत गरेको छ ।

    पछिल्ला वर्षहरूमा जिल्लामा आत्महत्याको दर बढेको देखिन्छ । पछिल्ला ५ आर्थिक वर्षको अवधिमा गोरखा जिल्लामा ३ सय ५ जनाले आत्महत्या गरेका छन् । चालु वर्षको २ महिनामा १७ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा पुरुषको संख्या धेरै छ । गत आर्थिक वर्ष २०७८/७९ मा आत्महत्या गरेका ६९ मध्ये ३३ जना पुरुष छन् । २७ महिला, एक बालक र ८ बालिकाले गत आर्थिक वर्ष आत्महत्या गरेको प्रहरी तथ्यांकमा छ । एक सातामै पाँच जनासम्म झुन्डिएर मृत्यु भएका घटना पनि छन् ।

    मादक पदार्थको अत्यधिक सेवन, वैदेशिक रोजागारीले पारिवारिक कलह, गरिबी र मानसिक विक्षिप्तता आत्महत्याको कारणका रूपमा देखिने डीएसपी लामिछानेले बताए ।

    ‘आत्महत्याको दर हेर्दा मादक पदार्थको प्रभाव अत्यधिक देखिन्छ, नशा गर्ने लतले सानो समस्या देखे आत्तिने, सामना गर्न नसक्ने बनाउँछ,’ उनले भने । आत्महत्याका घटना रोकथाम तथा न्यूनीकरणका लागि सामाजिक अभियान नै चलाउनुपर्ने उनले बताए ।

    Leave a Reply