
काठमाडौ, ४ माघ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १७ औं शृङ्खला शनिबार सम्पन्न भएको छ ।
अभ्यासमा ४६ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला नियमित सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालन गरिदै आएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १७औं शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको टुक्का
रोक्ने कसको आँट? गर्छु, मनलागी व्यवहार,
डिस्को पार्टी धाउन पाउनु, मानव अधिकार ।
✍️ वसन्त अनुभव

सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
१
मानव अधिकारले दिएको छ गर्न सबै छुट,
मनलागी गर्दै हिड आवराहरू हो एकजुट ।
वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४ दाङ
२//
रोक्ने आँट छैन कसैको तर पैसाको गाँठले रोक्दछ
मानव अधिकार भए पनि हजुर भाग्यले ठोक्दछ।
दीपक ठटाल जलन,खरसाङ,दार्जीलिङ।
३//
डिस्काे पाटी माेज मस्ती भवसागर तर्छु,
स्वतन्त्रता अधिकार हाे मन मर्जी गर्छु।
ताराप्रसाद चापागाईं
धुनिबेसी ।
४//
जन्मजात स्वतन्त्र म किन लाउँछाै सिक्री ,
मनलाग्दि डुलि हिड्छु मलाई के काे फिक्री ?
मित्र उराठी गाैतम
अमरपुर गुल्मी हाल ति न पा-२, रुपन्देही
५//
ठग्नेहरु हिडेका छन् मानव अधिकारको नाम लिदै,
गरिब असहाय मर्दै छन् परिवर्तनको साथ दिदै ।
अम्विका अधिकारी
झापा विर्तामोड
६//
मोज मस्ती गर्दै जान्छु रोक्न कसले गर्न सक्छ आँट,
स्वतन्त्रता त्यो मेरो हक अधिकार देखाउँछु ठाँट ।
बेदु न्यौपाने काठमाडौ❤️
७//
मानव रुपि परिचय मैले दिएको छु भन्दा शब्द टाढा भाग्छ।
स्वार्थमै जीवन कटाउने तुच्छ आत्मा मानव अधिकार लाग्छ
संझना( कुसुम)कास्की
८//
रमाउन आफू खुशी गर्छु कसलाई केको टन्टा,
आफ्नै सुरले आफ्नो काममा लाग नबजाऊ घन्टा ।
रचना शर्मा प्रतीक्षा, ललितपुर ।
९//
आहार विहार मोज मस्ती तासको घरमा बस्छु,
रंगीचंगी दुनियाँमा रमाउँदै शहरमा पस्छु ।
डम्बर थामी ‘अनुपम’ कालिन्चोक गाउँपालिका-६, दोलखा
१०//
मनलागी गर्नुलाई नै स्वतन्त्रता भन्छन्
अर्कालाई पिर नपारी गरे त सहन्छन् ।
गुणनिधि घिमिरे #पाँचथर #मोरङ हाल अमेरिका
११//
मानवले राज गरे पाे मानव अधिकार,
मानवता विरोधीलाई राक्षसी ब्यवहार!
निरज कोइराला
१२//
मोज मस्ती मेरै अधिकार लिएर बियर बोतल हातले,
पिउदै पार्टीमा नाच्ने हो अधिकार मेरै किन रोक्थ्यो जातले।
अच्युत घिमिरे-भुटान
१३//
अधिकार पाउने नाउँमा उच्छृङ्खल बन्दा,
फसौला नराम्ररी आफैँलाई खाडल खन्दा ।
गंगा खड्का
बूढानीलकण्ठ काठमाडौँ
१४//
उल्टो सुल्टो नाम चलाउन गर चमत्कार,
जहिले गोटी पल्टिन्न क्यारे बन होसियार।
म्यामराज राई
१५//
ऐया ! सिमा बिताउँछु जिवन रोक्ने नगर आँट,
मेरो यहीँ जीन्दगानी आफैले लिलाम गर्ने छाँट।
सुरेशकुमार पान्डे।दाङ घोराही १८
१६//
नैतिकता र संस्कार सबै पुराना भए,
विकृति र विसंगति सबैका प्रिय रहे!
भूषण जंग, काठमाण्डु
१७//
पाएका छाै स्वतन्त्रता हामी सबैले यहाँ,
खाेजि निन्दा गर्नु हुन्न है जाउँ जहाँ जहाँ।
प्रेम कला चापागाईं
झापा मेचीनगर १२ सहरेडागी
१८//
मोज मस्ती गर ठीकै छ धन बल छउञ्जेल,
सिमा काटी मनपरी गरे परौला जेल नेल।
घनश्याम पौडेल
१९//
रमाइलो गर्छु म त डिस्को र बार खोजी,
डेटिङ जान्छु मोज गर्छु मिल्ने जोडा रोजी।
नवशिला
बेलबारी -२,लालभित्ती,मोरङ ।
२०//
भिर तिर जानेलाई, रोक्न सकिने हैन,
मनलागी गर्ने गर, लौ भन्नु केही छैन।
बिके मुखिया,
दार्जीलिङ भारत।
२१//
डिस्काे पाटी रेस्टुरेन्टमा बित्छन् मेरा बास,
खानु, रम्नु जम्नु मात्र लक्ष्य छ आफ्नाे खास ।
त्रिलोचन भण्डारी
मेचीनगर, झापा
२२//
हड्डी निल्न हेर्नुपर्छ घाँटीको दुलो,
डिस्को जानु पुर्व घरको ख्याल ठुलो ।
बिके माकजु , भक्तपुर ।
२३//
बल बैस छउन्जेल मोज मस्ती गर,
सब सकिए पछि पर अर्काकै भर।
सरस्वती श्रेष्ठ इटहरी
२४//
सच्चा भोकहरू मान्छेसँग होला,
मन्दिरको पत्थरले भर्यो झोला।
पौडेल विमुन्स 💕 पोखरा कास्की 💕
२५//
दिनरात दु:ख गरि जोडी राख्देका छन् बाउले,
नपुगेमा बाउको नाममा दिई हाल्छन् साहुले ।
अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा हाल मलेसिया
२६//
कानाे गाेरुलाई औँसी न पुर्ने,
घुमेर साईत कहिले जुर्ने ।
दिनेश कोइराला
२७//
गर्नैपर्छ मोज मस्ती जिन्दगीमा, रात दिन रमाइ,
तिम्रो टाउको किन दुख्यो, गर्छु खर्च लुटेको कमाइ ।
राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ हाल- प्रवास
२८
म हु्ँ शासक , मै गर्छु राज ,
मेरो जस्तो कस्ले गर्छ काज ।
बुद्धिमान चौधरी
कनकाई नगरपालिका ४झापा
२९//
पाइन्छ सुटुक्क किन्न माग्न अधिकार सबै ,
घरमै बसौं ढुक्कले अन्याय हुदैन कबै।
होम प्रसाद न्यौपाने
धरान,सुनसरी ।
३०//
लुटेको धन हो कि? बाउको हो कमाइ?
बगाउ पसिना देखाउ मोज मनाइ।
(कुमार थापा) उमेश गौरीगाउँले
निजगढ ९बारा हाल: झारखण्ड भारत
३१//
ऋणं कृत्वा घृतम् पिबेत् पढेको छु नि मैले,
खाने मुखलाई जुँगाले छेक्छ साथी कैले ?
केशवप्रसाद ढकाल `प्रीतबीज´
गाेरखा
३२//
धाक फूर्ति निकै गर्छु मांस-मदिरा खान्छु ,
खल्ती रित्याई बा-आमाकाे डिस्काे तिर जान्छु ।
रामकृष्ण दुवाडी
पाेखरा ।
३३
कमण्डलु बोक्छन् दिनमा दु:ख पाएँ भन्दै
डिस्कोमा भेटिन्छन् साँझ साहुँ र सेट बन्दै ।
ललिता अभागी
सुनकोशी५सिन्धुली
३५//
डिस्को गई सक्नु छ ,सुखमा आफूले कमाएको,
काम छैन छोराछोरीलाई , हामीले जमाएको।
जमुना आचार्य
सिन्धुपाल्चोक
३६//
चट्ट छुँदा झट्का बिजुलीकाे तार,
बिहे पछि कालेकाे भयाे निखार ।
टंकबहादुर अालेमगर
उदयपुर
३७//
मानव अधिकार भनेर जे गर्न छ छुट,
यस्ता अधिकारले मान्छे बन्न थालेका गुट।
भगवती दवाडी ,झापा
३८//
डिस्को पाटी मस्ती गर्छु जान्छु सेमीनार ,
स्वतन्त्रता पाएकै छु घुम्न होटल् वार ।
बिबस पारदर्शी
भद्रपुर न० प० २ झापा
३९//
मानव अधिकार मात्र हैन तिम्रै हो स्वतन्त्रता पनि,
भीर ताक्नेलाई काँध हैन चित्त बुझाउँला राम भनि।
अरुण कुमार भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत ।
४०//
एउटा गल्ती लुकाउन हज्जारौंको छ सहारा,
निर्दोष दोषी ठहरिन्छ, दोषी लाउँछ पावर ।।
प्रदीप के रिमाल
इटहरी -८ सुनसरी , प्रदेश नम्बर -१
४१ //
अहिले गर्दछु मनलागि आमा बुवालाई टेर्दिन ,
बुढेसकालमा दु:ख पाउँदा सुन्ने भेट्दिन ।
गृष्मा पौड्याल
टोकियो जापान
४२//
राती राती नाच्नलाई डिस्को तिर जाने,
डिस्को पार्टी गएर म टन्न रक्सी खाने ।
गणेश तामाङ वाइबा
धादिङ नेपाल।।।
४३//
यता बुढी छोडेर डिस्को जादै मज्जा लिने
अधिकार हो मेरो पनि रक्सी सबै पिने ,
बिनिता विश्वकर्मा बाजुरा
४४
उमेर हुन्जेल त कोहि चाइन्न
बुढेसकालमा साहारा पाइन्न ।
दुर्गा भट्टराई
मोरङ
४५//
डिस्को-पार्टी, रेष्टुरेन्ट खोल्नु मेरो खुसीको बात,
सक्ने जति लुट्छु आखिर सत्तामा मेरै छ हात।
परिक्रमा श्रेस्ठ, धरान- सुनसरी ।
४६//
अधिकारकाे पनि हुन्छ बुझहै आफ्नै सिमा र आधार ,
समयमा हाेसगर बाबुराजा जीवन बन्ला बेकार ।
प्रद्युम्न चालिसे
जय टुक्का ! जय साहित्य !!

