
३०-भदौ/ बाँकेको राप्ती सोनारी गाउँपालिका १ गाभरमा बाघले एक जनालाई आक्रमण गरेपछि त्यहाँका स्थानीयवासीहरु त्रसित भएका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्र्तगत पर्ने अगैया-कुसुम सडकखण्डमा बाघले मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीयवासीहरु त्रसित भएको राप्ती सोनारी गाउँपालिका १ का वडा अध्यक्ष चन्द्र बहादुर वलीले जानकारी दिए ।
बाँके राष्ट्रिय निकुञ्जबाट निस्किएका दुई पाटेबाघ दिनहुँजसो सडकमा देखिने र कराइ राख्ने भएकोले स्थानीयवासी त्रसित भएको उनले बताए । साथै बाँके राष्ट्रिय निकुञ्जले उक्त बाघलाई नियन्त्रणमा लिने कार्यलाई तिव्रता दिएको वडाध्यक्ष वलीले बताए । निकुञ्जले ठाउँ-ठाउँमा बाघका लागि चाहरा राखेर समाउने प्रयास जारी राखेको उनले बताए ।
उनका अनुसार अहिले बाँकेको गाभर, कुसुम, सौंरीगाउँका बासिन्दा बाघ आएर झम्टिने डरले त्रसित अवस्थामा रहेका छन् । आइतबार ४५ वर्षीय एक पुरुषलाई महेन्द्रराजमार्गअन्तर्गत पर्ने गाभर नजिकै सडकबाट तानेर बाघले खाएको थियो ।
साथै उनले अहिले हात्ती प्रयोग गरेर बाघलाई गाउँ नजिक आउन नदिने र उसको प्राकृतिक बासस्थानतिर धपाउने काम भइरहेको छ । राजमार्गमै बाघको आङ्तक फैलिएपछि जिल्ला प्रशासन कार्यालयले पूर्वपश्चिम राजमार्गमा रात्रिकालीन समयमा साना सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

