माधव नेपाल नेतृत्वको पार्टीको नाम नेकपा एमाले (समाजवादी), चुनाव चिह्न सूर्य नै !

  • २ भाद्र २०७८, बुधबार १४:४३ मा प्रकाशित
  • काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने तय गरेको छ ।
    सो समूहले पार्टीको नाम, चुनाव चिह्नलगायतका विषय टुंगो लगाइसकेको छ ।
    तर विकल्पमा छलफल भइरहेको एक नेताले जानकारी दिए । पार्टीको नाम नेकपा एमाले (समाजवादी), नेकपा एमाले (क्रान्तिकारी), नेकपा समाजवादी, नेकपा एमाले (जनवादी), नेकपा (एकीकृत)लगायतका नाममा छलफल भएको छ ।
    तर नेकपा एमाले (समाजवादी) राख्ने करिब टुंगो लागेको सो पार्टीका नेताहरुले बताएका छन् ।
    तर चुनाव चिह्न भने सूर्य नछाड्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए ।
    एमाले अध्यक्ष केपी शर्मा ओलीले पदमुक्त गरेका सांसद मेटमणि चौधरीले बाह्रखरीसँगको कुराकानीमा बुधबार बिहान भने, “पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिह्न सूर्य नै हुनेछ ।”
    सूर्य कसरी ? भन्ने प्रश्नमा उनको जवाफ थियो, “उदाउँदो सूर्य हुन सक्छ, अर्थात् कुनै पनि रुपको सूर्य हुन सक्छ । हामीले सूर्य छाड्दैनौँ ।”
    उनीहरुले सबै तयारी पूरा गरेर बसेका छन् । राष्ट्रपतिबाट अध्यादेश जारी हुनासाथ निर्वाचन आयोगमा पुग्ने तयारी उनीहरुले गरेका छन् ।
    नयाँ पार्टी गठनका लागि विधान र सांगठनिक संरचनाको तयारीमा बेदुराम भुसाल नेतृत्वको टोली खटिएको चौधरीले जानकारी दिए ।

    Leave a Reply