
प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) साउदी अरेबियाले नेपालीहरूले सशर्त वा निसर्त रोजगारदाता फेर्न पाउने बताएको छ ।
पीएनसीसी साउदीद्वारा शुक्रबार रियादको बाथस्थित दियामोरा होटेलमा संचालित तालिममा सो कुरा बाह्य संयोजक नारायण पासवानले बताऊनु भएको हो ।

पीएनसीसीका बाह्य संयोजक पासवानका अनुसार साउदी सरकारद्वारा तयार पारेको सशर्त रोजगारदाता परिवर्तन गर्न कम्तीमा एक वर्षको करार अवधि पुरा गरेको हुनुपर्ने, चेम्बर अफ कमर्स (Chamber of Commerce)ले प्रमाणित गरेको रोजगार सम्झौता (करार) पत्र साथमा हुनुपर्ने र रोजगारदाता परिवर्तन गर्ने कुरा हालको रोजगारदातालाई जानकारी गराउनुपर्ने प्रावधान रहेका छन् ।

त्यसैगरी बिना सर्त वा निसर्त रोजगारदाता परिवर्तन गर्न साउदी प्रवेश गरेको ३ महिनासम्म कामदारले रोजगार सम्झौता पत्र नपाएमा, लगातार ३ महिनासम्म पारिश्रमिक नपाएमा वा रोजगारदाताको मृत्यु भएमा र लामो समय विविध कारणले रोजगारदाता सम्पर्कमा नआएमा रोजगारदाता परिवर्तन गर्न पाउने बाह्य संयोजक पासवानले जानकारी गराउनु भयो । उहाका अनुसार ईकामा समाप्त भई नवीकरण नगरेमा कामदार र रोजगारदाताको बिचमा विवाद भई कानुनी सुनुवाइमा २ पटकसम्म रोजगारदाता वा प्रतिनिधि उपस्थित नभएमा र रोजगारदाताले करार अवधि समाप्त नभई अनुमति दिएमा परिवर्तन गर्न पाउनेछन् ।

कार्यक्रममा एनआरएनएका मानार्थ परिषद रमेश भण्डारी, नेपाली प्रवासी मञ्चका महासचिव विमल गौतम, सृजना सांस्कृतिक समूहका नगेश तामाङ, तामाङ एकता समाजका कोषाध्यक्ष रोम लामा, आईएम ई ग्लोबलका प्रतिनिधि लालबहादुर क्षेत्री लगायत अन्य संघसंस्थाका प्रतिनिधिहरूले आआफ्ना भनाइ राखेका थिए ।
तालिममा सहभागी सुन्तली माया तामाङ र ज्ञानु मगरको निवेदन समेत संकलन गरिएको थियो । उनि कम्पनीको काममा आएपनि लामो बिदाका बेला घरायसी काम लगाएर ज्याला समेत नदिकन श्रम सोषण गरिएकोले उनीद्वारा रोजगारदाता विरुद्ध निवेदन दिइएको हो।

पासवान पीएनसीसीको बाह्य संयोजकको जिम्मेवारी लिएर साउदी आए यता संस्थाको कार्यमा वृद्धि आएका हुन् । पिएनसीसीले लकडाउन खुलेयता अल कासिम, जुवेल, दमाम, खोबार, हायल, रियाद, जेद्दा लगायतमा हेल्थ तथा हेल्प क्याम्पको आयोजना गरिसकेका छन् ।
काठमाडौंको अनामनगरमा केन्द्रिय कार्यालय रहेको पीएनसीसीले वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्या झेलिरहेकाहरुलाई आफ्नै सेल्टरमा राखेर कानुनी, लगायत अन्य मुद्दाहरुमा सहयोग गरिरहेका छन् । पीएनसीसीको प्रवास शाखा हालसम्म साउदी अरेबिया, दुबई, कतार, ओमान, कुवेत लगायतका देशमा छन् ।

